नयाँ दिल्ली, फागुन २७ : टाइम्स् अफ इण्डियाद्वारा यही फागुन २३ र २४ गते भारतको राजधानी नयाँ दिल्लीमा आयोजित विश्व व्यापार सम्मेलनमा सहभागी निजी क्षेत्र सम्मिलित नेपाली प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको छ ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सम्मेलनमा सहभागिता जनाएको थियो । सम्मेलनका क्रममा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट ‘लघु, साना र मझौला’ उद्योगको महत्वसहित उक्त क्षेत्रको वस्तुस्थिति एवं सम्भावना विषयक कार्यशालमा सक्रिय सहभागिता जनाइएको परिसंघले जनाएको छ ।
सोही कार्यक्रममा सहभागी भएका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले नेपालले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न लघु तथा घरेलु र मझौला उद्योग प्रवद्र्धनलाई राष्ट्रिय महत्वका साथ अघि बढाएको बताएका थिए । उनले स्थानीय तहमा समेत उद्योगग्राम विस्तार गर्दै पूँजी र प्रविधि हस्तान्तरणमार्फत लघु, साना तथा मझौला उद्योगलाई आर्थिक विकासको मूल प्रवाहमा जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी गराएका थिए ।
सम्मेलनको उद्योग सत्रमा राज्यमन्त्री दुगडले अतिकम विकसित देशका रुपमा नेपालका उद्योगलाई प्रविधि हस्तान्तरण तथा रुपान्तरणमा सहयोग आवश्यक रहेको र त्यसमा सघाउन सरकारले प्रयास गरिरहेको बताएका थिए । उद्योगको प्रविधिमा पहुँच तथा श्रमिकको दक्षता अभिवृद्धिका लागिसमेत सरकार उद्योगी र अन्य साझेदारले मिलेर काम गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।