काठमाडौँ, फागुन ३० : काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षभित्रै सक्नेगरी तीन स्थानमा स्थानान्तरण गर्नसक्ने आकाशे पुल निर्माण कार्य तीव्ररूपमा अघि बढाएको छ ।
अत्यधिकमात्रामा पैदलयात्रुको चाप हुने गरेको माइतीघर, जयबागेश्वरी र चाबहिल चोकमा निर्माणको कार्य शुरु गरिएको हो । हाल निर्माण भइरहेको माइतीघरको आगामी चैतसम्ममा र अन्य दुई स्थानको पनि चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरी प्रयोगमा ल्याउने गरी काम अघि बढेको छ । निर्माणको कामअन्तर्गत अहिले माइतीघरमा सिँडी राख्ने कार्य भइरहेको छ भने अन्य दुई स्थानमा पनि निर्माणको काम शुरु भइसकेको छ । स्थानान्तरण गर्नसक्ने पुल भएको हुँदा यसको लागि निर्माणको समय र आर्थिक भार पनि कम लाग्ने जनाइएको छ ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार अन्य सात स्थानमा पनि निर्माण गर्ने तयारी रहे पनि स्थान पहिचान हुन नसक्दा काम अघि बढ्न सकेको छैन । माइतीघर, टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर र गौशाला चोकमा पनि स्थानान्तरण गर्न सकिने पुल निर्माण कार्य गर्ने महानगरपालिकाको योजना छ । यस्ता खालका पुल निर्माणकै लागि महानगरले चालू आवमा पाँच करोड बजेट विनियोजन गरेको छ ।
महानगरले बनाउन लागेका सार्न मिल्ने पुलमध्ये माइतीघरको पुरातत्व विभाग अगाडि निर्माणको काम निकै अघि बढिसकेको छ । त्यसैगरी चाबहिल र जयबागेश्वरीमा पनि यही महिनाबाटै पुल निर्माण अगाडि बढ्ने प्रवक्ता ईश्वरमान डंगोलले बताए । आवश्यकता हेरी महानगरले अघिल्लो आर्थिक वर्षमै १० स्थानमा सार्न मिल्ने पुल निर्माण गर्ने बताए पनि हालसम्म तीन ठाउँमा मात्र पुल बन्ने निश्चित भएको हो । आकाशे पुल निर्माणसँगै दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन कार्यमा ठूलो सहयोग पुग्ने महानगरपालिकाको विश्वास छ ।
नयाँ बन्ने पुल एक ठाउँबाट अर्को ठाउँमा आवश्यकताअनुसार सजिलै स्थानान्तरण गर्न सकिनेछ । यस्तो पुल पहिलो पटक बन्न लागेको हो । यसअघि परीक्षणका रूपमा पुरानो बसपार्क अगाडि स्थानान्तरण गर्न मिल्ने पुल बनेको थियो । महानगरभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालू छन् । रत्नपार्कमा एउटा सब–वे छ ।
भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएका पुल मर्मत गर्न नपर्ने अवस्थामा छन् । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको महानगर आफैँले स्वीकारेको छ । काठमाडोँ उपत्यकामा नयाँ र पुराना गरी ३० आकाशे पुल छन् । हाल महानगरपालिकाले निर्माण गरिरहेको पुलको लागत एउटाको एक करोड रहेको जनाएको छ ।