सुन्दर पोखरामा साहसिक पर्यटन
बिहिबार, चैत ०६, २०७६ मा प्रकाशित

जमुना वर्षा शर्मा

‘आहा पोखरा ! बादलभित्र लुकामारी खेल्दै देखिने हिमशृंखला, तालतलैया अनि मिलेको बस्तीको माथि चराजस्तै उडेर दृश्यावलोकन गर्दै प्रकृतिसँग रमाउन पाइने । पोखराको आकासमा भेटिने यस्तो मज्जा संसारमा अन्त कतै भेटिँदैन होला ।’

यी अनुभव इटहरीका पत्रकार विराट अनुपमका हुन् । केही समयअघि पोखरामा स्काइ डाइभ, प्याराग्लाइडिङ, जिप फ्लायर, हट एयर बेलुनलगायतका साहसिक खेलबाट मनोरञ्जन लिएपछि उनले सुन्दर शहर पोखरामा साहसिक खेलले थपेको रोमाञ्चक अनुभूति सुनाए । यहाँ आउने पर्यटकको अनुभव छ– पोखराको सुन्दरता र यहाँको साहसिक खेलको मज्जा शब्दमा व्यक्त गर्न सकिँदैन, त्यति आनन्द मिल्छ यहाँ ।

 

अनुपम भन्छन्, ‘पोखरामा यति धेरै साहसिक खेलका लागि पनि न्यूनतम शुल्कस्तरीय सत्कार, दक्ष जनशक्तिका कारण प्राप्त सेवाले जीवनकै बडो रोमाञ्चक अनुभव दिलायो ।’ उनको अनुभवमा दुनियाँमा पोखरा मात्रै यस्तो ठाउँ हो जहाँ पर्यटन र साहसिक पर्यटनका फरक र अलौलिक आनन्द एवं अनुभव भेटिन्छ ।

हुन पनि यहाँका सबै लोकप्रीय ट्रेकिङ रुट अन्नपूर्णको ‘गेट वे’ पोखरा नै हो । नेपालको यस्तो पर्यटनको कम्तीमा पनि ७० प्रतिशत प्याकेज पोखरामा नै पाइन्छ । नेपालको पर्यटनको साहसिक खेलको बेजोड आनन्द पनि यहीँ भेटिन्छ ।

अर्का साहसिक खेल प्रेमी एवं साहसिक पर्यटन अभियन्ता विष्णुकान्त घिमिरे साहसिक खेल पर्यटनको एक्लो शहर पोखरा भएको बताउँछन् । उनी भन्छन्, ‘प्याराग्लाइडिङ, स्काइ डाइभिङ, अल्ट्रालाइट, हट एयर बेलुन, बन्जी जम्प, जिप फ्लायर, ¥याप्mटिङलगायत सबै भएको पोखरा नेपालको एक्लो सुन्दर शहर हो । जहाँ साहसिक खेल पारखीले ‘प्याकेज’मा सबैको आनन्द लिन सक्छन् ।’

घिमिरे भन्छन्, ‘पहाडको माथि घुम्दै हिँडेर आकाशको चारै तिर फैलिएर’, भन्ने गीत गुनगुनाउँदै आकाशमा शयर गर्ने अनि झरेर बञ्जीजम्पबाट फाल हाल्नुको आनन्द पोखरामा एकैपटक मिल्छ । पोखरामा आफूभित्रको आत्मविश्वास अनि डरभित्रको आनन्द एकैचोटी लिन सकिने उनको अनुभव छ ।’

पोखरा प्राकृतिक सुन्दरतासँगै अनुकूल मौसमले धेरै नागरिकको रोजाइको शहर बनेको छ । बालकदेखि वृद्धासम्म रमाउन सक्ने पोखराको वातावरणमा पछिल्लो समय साहासिक खेलका पारखीहरु पनि उसरी नै झुम्न थालेका छन् ।

पोखरामा प्याराग्लाइडिङ, जिप फ्लायर, टावरसहितको बञ्जी जम्प, अल्ट्रालाइट, क्यानोनिङ, हट एयर बेलुन, स्काइ डाइभ, सँगै पर्यटकले रमाइलोका लागि गर्ने साइक्लिङ, बोटिङ, घोडा सवारी, सेती नदीमा गरिने जलयात्रा (¥याफ्टिङ) तथा कायाकिङले पनि यस क्षेत्र साहासिक खेलको मुख्य गन्तब्य बन्दै गएको छ ।

पर्यटन व्यवसायी एवं पोखरा अल्ट्रालाइटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठ माछापुच्छ्रे«, अन्नपूर्णसहितका हिमशृंखलाको दृश्यावलोकन गर्न सकिने साथै ताल तलैया एवं धार्मिकरुपले पनि उस्तै महत्व राख्ने पोखराले पछिल्लो समय साहसिक खेलको शहरका रुपमा समेत आफ्नो परिचय थप्दै गएको बताउँछन् ।

पोखरामा सन् १९९६ मा एभिया क्लबले अल्ट्रालाइट भित्र्याएको हो । पुतली जहाजसमेत भनेर चिनिने अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ । हाल एभिया क्लब, फिस्टेल र पोखरा अल्ट्रालाइट लगायतले अनुमति लिएर सञ्चालन गरिरहेका छन् ।

पोखरा– १७ रातो पैह्रोमा बञ्जी नेपाल एडभेन्चरर्स प्रालीले आठ करोडको लगानीमा बञ्जीजम्प निर्माण गरिरहेको छ । यसका अध्यक्ष सन्तोष भट्टराईसँग विदेशका विभिन्न देशमा डेढ दशक लामो समय बञ्जीमा काम गरेको अनुभव पनि छ ।

भट्टराई भन्छन्, ‘म पोखराको सुन्दरतामा असाध्यै रमाउँछु । पोखरा विश्वमा परिचित नाम हो, यसको सुन्दरतामा जो कोही रम्न सक्छन् माछापुच्छ«्रे अन्नपूर्ण हिमशृंखलाको काखमा साहसिक खेल पारखीका लागि बञ्जीजम्प निर्माण भइरहेको छ ।’ उनले पोखरालाई साहसिक खेल पर्यटनका रुपमा समेत विश्वमा चिनाउन सकिने बताए ।

यसअघि हाइग्राण्ड एडभेञ्चर्स (बञ्जी पोखरा) ले पनि सन् २०१४ देखि बञ्जीजम्प सञ्चालन ल्याइसकेको छ भने सोही कम्पनीले सन् २०१२ बाट जिप फ्याएर सञ्चालन गरिरहेको छ । यस कम्पनीका प्रमुख अपरेटिङ अफिसर दिनेश महर्जन प्रत्येक वर्ष ३० देखि ४० प्रतिशत बञ्जी र जिपफ्यायर गर्ने बढ्दै गएको बताउँछन् ।

उनले कोरोनाको प्रकोप नभएको भए भ्रमण वर्षको प्रचारप्रसारले साहसिक खेल पर्यटनलाई उचाइमा पु¥याउन विश्वास व्यक्त गरे । ‘धेरै उत्साहित थियौँ पर्यटक राम्रो आइरहेका थिए एक्कासी कोरोनाको प्रभावले सुनसान बनाइदियो ।’

पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बेलुनको उडान शुरु भएको हो । बेलुन नेपाल प्राली पोखराका अध्यक्ष विक्रम बाडेले यसमार्फत समुद्र सतहदेखि तीनदेखि चार हजार मिटर उचाइसम्म उड्न सकिने जानकारी दिन्छन् ।

यसबाट पोखरा र आसपासका सुन्दर हिमशृंखलाको दृश्यावलोकन गर्न सकिने र वर्षायामका तीन महिना असार, साउन र भदौबाहेक हरेक महिना मौसमअनुकूल भएको दिन उड्न सकिने जानकारी पनि उनी दिन्छन् ।

नेपाल हवाइ खेलकूद संस्थाका उपाध्यक्ष इन्द्र भण्डारीका अनुसार पोखरामा विरु बमजमले सन् १९९६ मा बेलायतका नागरिक एडम हिललाई नेपाल ल्याएर प्याराग्लाइडिङको शुरुआत गरेका थिए । पहिलो कम्पनी सनराइज प्याराग्लाइडिङ हो । बमजमका छोरा राजेश बमजम पहिलो प्यारापाइलट हुन् ।

हाल पोखरामा ६० वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘पोखरा आएका ५० प्रतिशत पर्यटकले प्यराग्लाइडिङ गर्छन् भने चिनियाँ पर्यटक भने ९५ प्रतिशतले गर्ने गरेका छन् ।

कोरोनाले सुस्ताएको पर्यटन क्षेत्रमा अहिले पनि पोखरामा रहेका पर्यटक मौसम खुलेको बेला आकाशमा टन्नै उडेको देख्न सकिन्छ ।’ प्याराग्लाइडिंमा उडेर मज्जा लिनका लागि ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक पोखरा आउने गरेको उनले बताए ।

त्यसैगरी साहसिक खेल पारखीको रोजाइमा क्यानोनिङ पनि पर्दछ । माछापुच्छ्रे गाउँपालिका वडा नं ९ ल्वाङघलेलको कुदी छहरामा रहेको पोखरा क्यानोनिङ सन् २०१४ बाट सञ्चालनमा आएको हो ।

क्यानोनिङ पर्यटन व्यवसायी राम गुरुङले सञ्चालनमा ल्याएको हुन् । यस खेलमा करिब ४५ मिटरदेखि ७५ मिटर अग्लो स्थानबाट पानीको छहरामा रमाउन सकिन्छ । यहाँ वार्षिक तीन हजार जना जतिले क्यानोनिङ गर्ने गरेको गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका ११ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर ११० वटा नयाँ पर्यटकीयस्थल सार्वजनिक गरेको छ भने साहासिक पर्यटकीय गन्तव्यलाई समेत सूचीकृत गरेको छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री विकास लम्सालले पोखरा साहसिक खेलको केन्द्र नै भएको बताए । यसको प्रचारप्रसार गरेर बाह्य पर्यटन भित्र्याउन सक्ने प्रशस्त सम्भावना र त्यसको गृहकार्य भइरहेको सन्दर्भमा हाल विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरसले सबै क्षेत्रलाई प्रभावित बनाएको उनको भनाइ छ ।

‘हामी विशेष योजनासहित नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेशको छिमेकी भ्रमण वर्षलाई भव्य बनाउने तयारीका साथ अघि बढेका थियौँ । अचानक ‘कोभिड १९’ को प्रकोपबाट हामी सचेत बन्नुपर्ने अवस्थाले हाल पर्यटन प्रर्वद्धनात्मक गतिविधि रोकेका छौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर