थाइल्याण्डबाट फर्किएका व्यक्ति आजदेखि ‘सेल्फ क्वारेन्टाइन’मा
आइतबार, चैत ०९, २०७६ मा प्रकाशित

भद्रपुर, चैत ९ : व्यक्तिगत कामले थाइल्याण्ड पुगेर फर्किएका झापाको भद्रपुरका एक व्यक्ति (पुरुष) आजदेखि घरमै स्वनिगरानी (क्वारेन्टाइन)मा बस्नुभएको छ । निगरानीमा बस्ने कार्यको जनस्वास्थ्य कार्यालयले प्रशंसा गर्दै उनीलाई प्राविधिक सहयोग पुर्याएको छ ।

 भद्रपुर नगरपालिका६ का ३७ वर्षीय ती व्यक्ति शनिवार काठमाडौँबाट विराटनगर विमानस्थल हुँदै घर फर्किनुभएको थियो । उनले घरमा पुगे लगत्तै नगरपालिकाको विपद् व्यवस्थापन समितिमा सम्पर्क गरेर आफूले सेल्फ क्वारेन्टाइनमा बस्न चाहेको बताउनुभएको थियो ।

 आज जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाई र विपद् व्यवस्थापन समितिको स्वास्थ्यकर्मीसहितको टोली उनको घरमा पुगेको थियो । उनको स्वास्थ्य सामान्य रहेको बताउँदै अधिकृत चौलागाईँले भने, ‘सचेत व्यक्ति हुनुहुँदोरहेछ, आफैँ सम्पर्क गरेर सेल्फ क्वारेन्टाइनमा बस्छु भने र हामीले उनीकै घरको एक कोठामा आवश्यक सामान जुटाएर उनीलाई राख्यौँ ।

 उनी २० दिनअघि व्यक्तिगत कामले थाइल्याण्ड जानुभएको थियो । उनीलाई समितिले तयार गरेको वडा नं ८ मा रहेको कलबलगुढी क्वारेन्टाइनमा बस्न अनुरोध गरिए पनि आफैँ घरमा बस्ने इच्छा व्यक्त गरेपछि घरमै बस्ने वातावरण तयार गरिएको अधिकृत चौलागार्इँले बताए  । उनको स्वास्थ्य नियमित परीक्षण गरिने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर