लिस्बन, चैत १० : पोर्चुगलस्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुंँवरको टोलीले क्वारेन्टाइनमा बसेका तीन नेपालीसँग भेट गरेका हुन् । उनले आवश्यक सहयोग जुटाउन एनआरएनए पोर्चुगल तयार रहेकाले नआत्तिन आग्रह गर्नुभयो ।
यस्तै संघका वरिष्ठ उपाध्यक्ष रोशनकाजी थापाले पनि क्वारेन्टाइनमा बस्दै आएका नेपालीसँग भेटी धैर्य गर्न अनुरोध गर्नुभएको छ । ‘हामी संघका तर्फबाट उनीहरूलाई आवश्यक सहयोग जुटाउन कुनै पनि कसर बाँकी राख्दैनौंँ ।’
सहयोग समन्वय समितिका उपसंयोजक दिनेश भण्डारीले कोरोनाको संक्रमणबाट बच्न पोर्चुगलमा रहेका सबै नेपालीलाई घरबाट बाहिर नजान अनुरोध गर्नुभएको छ । यस्तै क्षेत्रिय समिति अलगावका अध्यक्ष अनिल शर्माले पोर्चुगलको राजधानी लिस्बन बाहिर धेरै नेपाली कृषि क्षेत्रमा कार्यरत भएकाले सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।
कोरोनाबाट जोगिन दूतावासको आग्रह
नेपालीमा संक्रमण फैलिएपछि लिस्बनस्थित नेपाली वाणिज्य दूतावासले बिरामीको उपचार र क्वारेन्टाइनमा रहेका नेपालीहरूको खानपान, जाँच र सुरक्षामा आवश्यक ध्यान पु¥याइदिन सम्बन्धित निकायलाई पत्राचार र अन्य कूटनीतिक पहल गरिरहेको छ । वाणिज्यदूत मकरबहादुर हमालले सम्बन्धित क्षेत्रका सेफ र जेएनआरलाई सहयोगका लागि अनुरोध भइसकेको जानकारी दिए । उनले पोर्चुगलमा रहेका सबै नेपाली समुदायमा आइपर्ने सबैखाले स्वास्थ्य समस्या तथा आकस्मिक विपत्मा सहयोग र परामर्शका लागि कन्सुलेट कार्यालयको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । क्वारेन्टाइनमा रहेका नेपालीको अवस्था बुझ्न फारो पुग्नुभएका वाणिज्य दूतावासका प्रतिनिधि मोहनकुमार थापाले दूतावासले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
व्यवसायी एवं एनआरएनए पोर्चुगलका पूर्वउपाध्यक्ष कमलमान गुरुङले पहिलोपटक क्वारेन्टाइनमा रहेका नेपालीलाई राहत वितरण गर्नुभएको थियो । यो समाचार तयार पार्दासम्म पोर्चुगलमा १४ जनाको ज्यान गएको तथा एक हजार ६ सय जनामा संक्रमण फैलिएको ‘वल्र्डसमिटर’ ले जनाएको छ । संक्रमणबाट बच्न पोर्चुगल सरकारले ‘आपत्कालीन’ घोषणा गरिसकेको छ ।