बहिरंग सेवा बन्द
बिहिबार, चैत १३, २०७६ मा प्रकाशित

 सुर्खेत, चैत १३ :  कर्णाली प्रदेश अस्पताल सुर्खेतले बहिरंग सेवा (ओपिडी) बन्द गरेको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन केही समयलाई ओपिडी सेवा बन्द गर्नुपरेको जानकारी दिए । आपतकालीन सेवा भने सञ्चालनमा छ ।

ज्वरो, रुघाखोकीका बिरामीको जाँच भइरहेको छ । यद्यपि, अहिलेसम्म त्यस्ता बिरामीलाई आइसोलेसनमा राख्नुपर्ने अवस्था नआएको उनले बताए । ओपिडी सेवा सञ्चालन गर्दा बिरामीको भीडभाड बाक्लो हुने हुँदा कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम गर्न यस्तो निर्णय गर्नुपरेको अस्पतालको भनाइ छ ।

 प्रदेश सरकारले सुर्खेतमा सञ्चालित निजी अस्पताल, नर्सिङहोम तथा मेडिकल सञ्चालकसँग चौबिसै घण्टा सेवा सञ्चालन गर्न आग्रह गरेको छ । सामाजिक विकासमन्त्री दल रावलले निजी नर्सिङहोम तथा अस्पताललाई आइसोलेसन श्यया तयार गर्न र आवश्यक औषधिका लागि फार्मेसी खुला राख्न आग्रह गरेको बताए । साथै उनले प्रदेशमा दुई महिनासम्म पुग्ने औषधि भण्डारण रहेको र थप मेडिकल उपकरण व्यवस्थापन गर्न संघीय सरकारसँग अनुरोध गरेको जानकारी दिए ।

 हटलाइन सेवा

 कर्णाली प्रदेश सरकारले अलपत्र यात्रुको उद्धारका लागि हटलाइन सेवा सञ्चालन गरेको छ । सरकारले देशभर लकडाउन घोषणा गरेसँगै भारत तथा अन्य क्षेत्रबाट घर फर्किदै गरेका यात्रु बाटोमै अलपत्र परेपछि तत्काल उद्धारका लागि हटलाइन सेवा शुरु गरिएको हो ।

प्रदेश सरकारले भारतमा रहेका कर्णालीवासीलाई १० दिनभित्र फर्कन सार्वजनिक आह्वान गरेर अलपत्र पारेको भन्दै आलोचना भएको थियो । सरकारले आफैँ बोलाएर नाका, बाटोमै अलपत्र पारेको भन्दै तत्काल उद्धार गर्न प्रदेश सरकारलाई दबाब बढेको थियो ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले बाटोमा यात्रु अलपत्र परे हटलाइन नं १११० मा सम्पर्क गर्न अनुरोध गरेको छ । हटलाइनमा प्राप्त सूचनाका आधारमा प्रदेश सरकारले यातायातको प्रबन्ध गरी अलपत्र यात्रुको उद्धार गर्नुका साथै प्रारम्भिक स्वास्थ्य परीक्षण गर्नेछ । स्वास्थ्य परीक्षणकै आधारमा क्वारेन्टाइनमा राख्नुपर्ने वा गन्तव्यसम्म पु¥याउने भन्ने टुंगो लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर