सङ्कटमा सेवा दिँदै औषधि व्यवसायी
शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित

बनियानी, चैत १४ : कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेको आज तेस्रो दिनसम्म झापाका औषधि व्यवसायीले सेवा दिइरहेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम भए पनि अत्यावश्यक सेवाअन्तर्गत औषधि व्यवसाय भएकाले आफूहरूले जोखिम लिएर भए पनि सेवा दिइरहेको उनीहरूको भनाइ छ ।

प्राञ्जल फार्मेसी बिर्तामोडका सञ्चालक विनय डाँगीले सरकारले लकडाउन घोषणा गरेयता दिउँसो ३ देखि बेलुका ६ बजेसम्म पसल खुला राखिएको बताए । उनले नागरिकको अत्यावश्यक वस्तुका रूपमा औषधि रहेकाले आफूहरूले समय तालिका बनाएर भए पनि पसल खुला राखेको बताए ।

‘लक डाउनका कारण चिकित्सकीय सेवा बन्द छ तर औषधि पसल भने खोलिएको छ’, उनले भने, ‘डाक्टरको सेवा नभए पनि मास्क र आवश्यक औषधिका लागि पनि पसल नियमित खोलिरहेका छौँ ।’ आफूहरूको सुरक्षा नभए पनि व्यावसायिक धर्म पूरा गर्न पनि पसल खोल्ने गरेको उनले बताए ।

 

प्रदीप फार्मेसी बिर्तामोडका सञ्चालक प्रदीप खरेलले समस्या भए पनि पसल सञ्चालन गरिरहेको बताए । उनले भने, ‘साह्रै गाह्रो परेका मानिस आउने हुन् । समय मिलाएर भए पनि खोल्नै प¥यो नि ।’ लक डाउनका कारण घरबाट पसल पुग्नसमेत समस्या हुने गरेको सुनाउँदै उनले भने, ‘पसल आउँदा प्रहरीले रोक्यो, औषधि व्यवसायी भनेपछि छोडिदिए ।’ औषधि व्यवसायीको सुरक्षाका लागि सरकारीस्तरबाट आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ ।

 

ओम झापा मेडिकलका सञ्चालक सुरेश खतिवडाले निश्चित समय तोकेर पसल खोल्न थालिएको बताए । बिहान र बेलुकाको समय मिलाएर पसल खोल्ने गरिएको उनी बताउँछन् । ‘धेरै इमर्जेन्सी पर्नेहरूले फोन गर्नुहुन्छ’, उनले भने, ‘उनीहरूलाई पनि औषधि दिनै प¥यो, नियमित औषधि खानेहरू पनि छन् ।’ यस्तो जोखिमका बेलामा आफूहरूको सुरक्षाको व्यवस्था नभएको उनी बताउँछन् । ‘मास्क र पञ्जा लगाएर बसेका छौँ’, उनले भने, ‘कोही औषधि लिन आउँदा दूरी कायम गर्छ, साबुन पानीले हात धोएपछि मात्रै आउन दिने गरिएको छ ।’

 

बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी बिर्तामोडकी सञ्चालक नर्वदा भट्टराई सरकारले सुरक्षा दियो भने मात्रै औषधि पसल खोल्न सकिने अवस्था रहेको सुनाउँछन् । ‘औषधि लिन एकदमै आवश्यक पर्ने मानिस मात्र आइरहेका छन्’, उनले भने, ‘नियमित औषधि सेवन गर्ने र थेरापी गराउनेलाई सेवा नदिई हुँदैन ।’ लक डाउन रहेसम्म फिजियो थेरापी सम्भव नभए पनि फार्मेसी सेवा दैनिक पाँच घन्टासम्म उपलब्ध हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर