अर्बपतिहरुको कूल सम्पत्ति गत वर्षभन्दा ७०० अर्ब डलरले कम
बिहिबार, चैत २७, २०७६ मा प्रकाशित

बष्टन (अमेरिका), चैत २७ : कोरोनाभाइरसको विश्वव्यापी महाव्याधीले गर्दा विश्वका धनी मानिसहरुको नेट वर्थ पनि उल्लेखनीय रुपले कमी आएको छ । विश्वप्रसिद्ध फोर्ब्स म्यागाजिनका अनुसार अर्बपतिहरुको कूल सम्पत्ति गत वर्षभन्दा ७०० अर्ब डलरले कमी आएको छ ।

अर्बपतिको लिष्टमा रहेकाहरु पनि गत वर्षभन्दा ५१ प्रतिशतले गरिब भएको फोर्ब्सले जनाएको छ । सबै अर्बपतिहरुको सम्पत्ति जोड्दा उनीहरुसँग कूल ८ खर्ब डलर बराबर हुन आउछ ।

लगातार तेस्रो वर्षमा पनि संसारको सबैभन्दा धनी व्यक्तिमा अमेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेफ बेजोस रहेका छन् । ३६ अर्ब डलर बराबरको स्टक उनकी पूर्व पत्नीलाई डिभोर्स गर्दा दिएर पनि उनी अझै पहिलो नम्बरमा रहेका छन् ।

बेजोसको सम्पत्ति ११३ अर्ब डलर बराबरको छ जुन सन् २०१९ को लिष्टमा अमेजनको सेयरमा १५ प्रतिशतले वृद्धि भएपछि सम्भव भएको फोर्ब्सले जनाएको छ ।

उक्त इ कमर्स जायन्ट अहिले विश्वव्यापी महाव्याधीको बेलामा आकर्षणको केन्द्र भएको जसले १ लाख पूर्णकालीन तथा अल्पकालीन कामदार घरमा बसिरहेका र अनलाइन सपिङ्ग गर्ने उपभोक्ताको बढ्दो माग पूरा गर्न भर्ना गरेको फोर्ब्सले जनाएको छ ।

त्यसैगरी दोस्रो धनीको रुपमा बिल गेट्स रहेका छन् र उनलाई आरामदायी सामानका टाइकुन बर्नार्ड अर्नाल्टले पछ्याइरहेका छन् । वारेन वफेट चौथो नम्बरमा परेका छन् । त्यसैगरी सबैभन्दा धनी महिलामा वालमार्टकी एलिस वाल्टन ५४ दशमलव ४ विलियन डलरसहित धनीहरुको सूची नम्बर ९ मा छन् ।

यो वर्ष सन् २०२० मा फोर्ब्सको सूचीमा पर्ने व्यक्तिहरुको संख्या २ हजार ९५ रहेको छ । गतवर्ष अर्बपतिको सूचीमा पर्ने तर व्यवसायमा घाटा लागेर सूचीबाट हट्नेको संख्या २ सय ६७ जना रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

विनोद चौधरी फोर्ब्सको लिष्टमा कायमै

फोर्ब्स लिष्टमा पर्ने नेपालको पहिलो र एकमात्र व्यवसायी विनोद चौधरी सन २०२० मा पनि फोर्ब्स लिष्टमा परेका छन् ।  उक्त लिष्टको १५ सय १३ नम्बरमा उनी परेका हुन् । सिजी कर्प ग्लोबलका अध्यक्ष चौधरीको लगानी बैंकिङ्ग, वाईवाई नुडल्स, लक्जरी होटलहरु र ताज होटल चेनमा छ ।

गत वर्षभन्दा ३ सय मिलियन डलरले उनको नेटवर्थमा कमी आएर १ दशमलब ४ अर्ब डलर रहेको छ ।

सन् २०१९ मा उनको नेटवर्थ १ दशमलव ७ बिलियन डलर थियो ।  उनको उत्पादन वाईवाईका उद्योगहरु भारत, सर्बिया, बंगलादेशमा रहेका छन् भने इजिप्टमा बन्दै बनिरहेको छ । चौधरी ग्रुपका होटल सम्पत्तिहरुमा ३० वटा आफ्नै स्वामित्वका र ५५ वटा व्यवस्थापन गरिएका रहेका छन् ।

उनका छोराहरु निर्वाणले नेपालबाट तथा राहुल र वरुणले विदेशबाट उनको ग्रुप सञ्चालनमा साथ दिएको फोर्ब्सको प्रोफाइलमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर