कोरोनाको जोखिमले ल्याएका सुधार
आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित

रामबहादुर थापा

बागलुङ, वैशाख ७ :

धवलागिरि अञ्चल अस्पतालमा सघन उपचार कक्ष (आइसियू) सञ्चालन गर्ने सपना कोभिड–१९ को जोखिमका बेला साकार हुँदैछ । आवश्यकता खड्किए पनि अहिलेसम्म प्रबन्ध नगरिएको ‘भेन्टिलेटर’ यहीबेला अस्पताल आइपुगेको छ । कोरोना भाइरसको सम्भावित जोखिम हुन्थेन भने सायदै यति चाँडो आइसियू कक्ष बन्थ्यो, भेन्टिलेटर आउँथ्यो ।

विसं २०७१/०७२ मै आइसियू चलाउन प्रयास अघि बढ्यो । बजेट पनि आयो । दक्ष जनशक्ति नहुँदा योजना बीचमै तुहियो । बजेट ‘फ्रिज’ भयो । त्यसयता पनि बजेट छुट्टियो, आइसियू बनेन । परिस्थितिवश यसपालि भने अस्पताल र सम्बन्धित निकाय बढी नै दबाबमा परे । कोभिड–१९ को सङ्क्रमणले जटिल अवस्थामा पुगेका बिरामीलाई आइसियूमै राखेर उपचार गर्नुपर्ने हुन्छ, श्वास प्र्रश्वासमा समस्या हुँदा भेन्टिलेटर आवश्यक पर्छ ।

बिडम्बना दुवै अत्यावश्यक उपकरण अस्पतालमा थिएनन्, सरकारले भने कोभिड–१९ को उपचार गर्ने अस्पतालका रुपमा तोकी नै सकेको थियो । त्यहीँमाथि कोरोना भाइरसको पाँचौँ र छैटौँ सङ्क्रमित जिल्लामै भेटिएका थिए । सङ्क्रमित अस्पताल भर्ना भएपछि सरोकार भएका पक्ष संवेदनशील बने । उपचारमा चाहिने उपकरण र सामग्रीको जोहोमा जुटे । जनप्रतिनिधि र नागरिक समाजका अगुवा पनि ताते । पहल अघि बढाए । अस्पताल व्यवस्थापनले अगुवाइ गर्‍यो ।

‘सबैको सहयोग र पहलबाट आइसियू कक्ष सञ्चालनमा आउँदैछ’, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले भन्नुभयो, ‘वर्षौँदेखि प्रयास गरिए पनि बन्न सकेको थिएन, हामीले सबै प्रक्रिया पुर्‍याएर दुई सातामै बनायौँ ।’

उनले अहिले शुरु हुन लागेको तीन श्ययाको आइसियू कक्षमा थप दुई श्यया थपिने उल्लेख गरे । आइसियू सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले एक करोड बजेट छुट्याएको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयले  ६० लाख बजेट दिएको छ ।

‘पाँचजना स्वास्थ्यकर्मीलाई करारमा नियुक्ति गर्नका लागि प्रदेशबाट थप रु पाँच लाख बजेट पनि आएको छ’, उनले भने । केही दिनअघि अस्पताल निरीक्षणका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले थप आइसियूका लागि थप बजेट आवश्यक परेमा तुरुन्त उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

अध्यक्ष रानाले सङ्घ र प्रदेश सरकारले अस्पतालमा सुविधा थप र जनशक्ति व्यवस्थापनमा ध्यान दिएको उल्लेख गरे । सङ्घले दुईटा र प्रदेश सरकारले एउटा भेन्टिलेटर दिएको छ । ‘यस अस्पतालको सुधार र विकासका लागि उपयुक्त अवसर आएको छ’, अध्यक्ष रानाले भने, ‘अब अञ्चल नभएर उपप्रादेशिकस्तरको अस्पतालका रुपमा स्तरवृद्धि हुँदैछ ।’

उपप्रादेशिक अस्पतालका लागि चाहिने पूर्वाधार तयारीको काममा अस्पताल लागिपरेको उनको भनाइ छ । पहिलो चरणमा हाल रहेका ६५ श्ययालाई बढाएर १०० पुर्‍याइनेछ । भौतिक संरचना थपलगायतका योजना अघि सारिएको छ ।

अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले आइसियूका लागि चाहिने मुख्य उपकरण आइसकेको बताए । ‘आइसियू कक्ष निर्माणको काम भइरहेको छ, थप केही उपकरण आउन बाँकी छ’, उनले भने, ‘केही दिनभित्रमै आइसियू सञ्चालनमा आउँछ ।’

उनले आइसियू सञ्चालनका लागि दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको छुट्टै ‘युनिट’ आवश्यक पर्ने उल्लेख गरे । त्यसका लागि भने जनशक्ति अपुग रहेको उनको भनाइ छ । ‘यसै त हामीकहाँ दरबन्दीअनुसार जनशक्ति छैन, आइसियूका लागि विशेषज्ञसहितको चिकित्सक टोली आवश्यक पर्छ’, उनले भने, ‘प्रदेशको सामाजिक विकास मन्त्रालयमा त्यसको माग गरेका छौँ ।’

अस्पतालले सघन उपचार कक्षमा खटिने तीनजना नर्सलाई तालिमका लागि शनिबार पोखरा पठाएको छ । आइसियूमा एनेस्थोलोजिस्ट, फिजिसियन, अर्थोपेडिक, रेडियोलोजिस्टलगायत विशेषज्ञ चिकित्सक आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

अस्पतालमा हाल केही विशेषज्ञ चिकित्सक रहे पनि आइसियूका लागि थप जनशक्ति आवश्यक पर्ने जनाइएको छ । पछिल्लो समय सघन उपचारलाई अलग्गै विधाका रुपमा लिने गरिन्छ । त्यसका लागि चिकित्सक र स्वास्थ्यकर्मीको छुट्टै टोली चाहिन्छ ।

हाल अस्पतालमा फिजिसियन, महिला तथा प्रसूति, बालरोग, मानसिक, नाक, कान, घाँटीलगायत १० विशेषज्ञ चिकित्सक कार्यरत छन् । यस्तै १२ जना मेडिकल अधिकृत सेवारत छन् । अस्पताललाई स्रोत, साधनयुक्त बनाउन मन्त्रालयसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको बागलुङ–१ का सङ्घीय सांसद डा सूर्य पाठकले बताए ।

कोभिड–१९ को जोखिम बढेसँगै तत्काल आइसियू सञ्चालनका लागि सांसद पाठकसहितका जनप्रतिनिधिले पहल गरेका थिए । ‘कोरोनाले स्वास्थ्यमा लगानी बढाउनुपर्छ भन्ने महसुस सबैलाई भएको छ’, उनले भने, ‘प्रदेशमै पोखरापछिको दोस्रो ठूलो क्षेत्र भएकाले बागलुङको अस्पताललाई सुविधासम्पन्न बनाउनुपर्छ ।’

सांसद पाठकले अहिलेलाई कोभिड–१९ लाई केन्द्रित गरेर तत्कालीन सुुधारका काम भए पनि क्रमिक रुपमा सुविधा र जनशक्ति थपिनेमा विश्वास व्यक्त गर्नुभयो । अस्पतालले सिटी स्क्यान, एमआरआईलगायतका सेवा थपका लागि पहल अघि बढाइएको छ ।

अस्पतालमा अहिले कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवती उपचाररत छन् । यसअघि सोही नगरपालिका–३ की ६५ वर्षीया सङ्क्रमित महिला उपचारपछि निको भएर घर फर्किसकेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर