देशका १५ प्रयोगशालाबाट पिसिआर परीक्षण
आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित

काठमाडौं, वैशाख ७ : पछिल्लो दिनमा सङ्क्रमितको सङ्ख्या बढिरहँदा सरकारले कोभिड–१९ को परीक्षण दायरालाई बढाउँदै लगेको छ । आज आइतबारदेखि भेरी अस्पताल नेपालगञ्जमा पनि पिसिआर विधिबाट परीक्षण शुरु भएको छ । जहाँ आजै आठ नमूना परीक्षणका क्रममा रहेको छ । योसँगै नेपालका विभिन्न स्थानमा गरी जम्मा १५ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण शुरु गरिएको हो ।

उदयपुरको केसको अनुसन्धान र कन्ट्याक ट्रेसिङ भइरहेको मन्त्रालयले जनाएको छ । शनिबार गएको टोलीले शङ्कास्पद ६७ जनाको आरटी पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गरिसकेको छ । आज सिसिएमसीमार्फत नेपाली सेनाको हेलिकोप्टरले नमूना सङ्कलनको काम भइरहेको र २५० भन्दा नमूना सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

हालसम्म देशका विभिन्न प्रयोगशालामा भएका परीक्षण नतिजाको नमूनाको नतिजा पोजेटिभ आएमा पुनः परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला ल्याइने गरिएकामा अब पूर्वमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिममा भेरी अस्पतालमा अन्य स्थानबाट आउने पिसिआर प्रविधिको परीक्षणको नमूना पोजेटिभ आएमा ती प्रयोगशालामा परीक्षण गरी अन्तिम नतिजा घोषणा गरिनेछ । यसले प्रयोगशालाको दायरालाई फराकिलो बनाएको प्रवक्ता देवकोटाले बताए ।

मन्त्रालयको अद्यावधिक विवरणअनुसार हालसम्म पिसिआर विधिबाट परीक्षण भएका सङ्ख्या आठ हजार ८१ र ¥यापिड डायग्नोष्टिक किटबाट परीक्षणबाट २१ हजार ४८६ गरी जम्मा २९ हजार ५६७ रहेको छ । गत २४ घण्टामा नयाँ परीक्षण दुई हजार १६८ भएका छन् । थप परीक्षणका लागि किटहरु सबै प्रदेशमा पुगिसकेकाले द्रुत परीक्षण बढ्ने मन्त्रालयले जनाएको छ ।

आजसम्म पाँच हजार १८० व्यक्ति क्वारेन्टाइनमा छन् । आइसोलेशनमा रहेका बिरामी १०३ जना रहेका छन् । आइसोलेशनमा रहेकामध्ये उपत्यकाभित्र ५ र बाहिर ९८ जना छन् । मन्त्रालयमा रहेका दुई कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा दुई हजार २४१ प्राप्त भएकामा सबैको मन्त्रालयबाट सम्बोधन गरिएको जानकारी दिइयो ।

मन्त्रालयको मोबाइल एप्लिगेशन र वेबसाइडमा स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको सङ्ख्या २० हजार ८३४ पुगेको छ । गत २४ घण्टामा मात्रै थप ७०४ जनाले स्वमूल्याङ्कन गरेका थिए । उनीहरुमध्ये गत २४ घण्टामा थप छ सम्भावित सङ्क्रमित जोनमा रहेका र त्यस्तो जोनमा पुग्नेको सङ्ख्या मुलुकभर हालसम्म २६० जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर