जहाज नउड्दा खुम्बुको औषधि काठमाडौंमै
शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित

सोलुखुम्बु, वैशाख १२ : लकडाउनका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौंमै रोकिएको छ । लकडाउनले हवाई सेवा बन्द हुँदा खुम्बु पासाङल्ह्मु गाउँपालिकाले खरिद गरेको करिब सात लाख रुपैयाँबराबरको मास्क, पञ्‍जा, स्यानिटाइजर, पीपीई सेट, औषधिलगायत सामग्री काठमाडौंमा थन्किएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत विनोद भट्टराईले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकामा अहिले औषधिलगायत कोरोना सुरक्षा स्वास्थ्य सामग्री अभाव छ । पालिकाको सबै वडामा मास्क, स्यानिटाइजर, पीपीईलगायत अन्य औषधिसमेत अभाव हुन थालेको उनको भनाइ छ । लकडाउनअघि काठमाडौंमा सामग्री अभाव भएकाले त्यसपछि खरिद गरिएका कुनै पनि सामग्री ढुवानी गर्न सकिएको छैन ।

खुम्बुमा ढुवानीको एक मात्र सहज माध्यम हवाईमार्ग हो । लकडाउनसँगै देशभरको हवाई सेवा बन्द हुँदा खाद्यान्‍नसहित स्वास्थ्य सामग्री ढुवानी गर्न नसकिएको भट्टराईले बताए ।

यसैबीच खुम्बु पासाङल्ह्मु गाउँपालिका १, खरिखोलाबाट खुम्बु भित्रिने व्यक्ति बढेको स्थानीयले बताएका छन् । खरिखोला प्रहरी चौकीमा सुरक्षाकर्मी सीमित हुँदा विभिन्‍न नाका हुँदै गाउँपालिका भित्रिने क्रम बढेको गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले जानकारी दिए । उनका अनुसार ११ जनाको दरबन्दी रहेको खरिखोला प्रहरी चौकीमा पाँच मात्रै प्रहरी हुँदा नाकामा कडाइ गर्न नसकिएको हो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर