अब डोल्पा अस्पतालमै शल्यक्रियासहितको प्रसूति सेवा
शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित

डोल्पा, वैशाख १२ :  सदरमुकाम दुनैमा रहेको एक मात्र जिल्ला अस्पतालले शल्याक्रियासहितको प्रसूति सेवा दिन थालेपछि अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

अस्पतालले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक नै नियुक्ति गरेर शल्यक्रियासहितको प्रसुति सेवा शुरु गरेपछि सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको हो । जिल्लामै जटिल अवस्था भएका गर्भवतीको पनि सफल शल्यक्रिया हुन थालेकाले विकट गाउँबस्तीबाट सुत्केरी गराउन आउने गरेका हुन् ।

अस्पतालले भरपर्दो सेवा सुविधा दिन थालेपछि सुरक्षित सुत्केरी गराउनकै लागि नेपालगञ्ज, काठमाडौं, सुर्खेतलगायतका जिल्ला बाहिरका शहरमा जानुपर्ने अवस्था हटेको छ ।

मङ्सिरयता मात्रै ज्यानै जोखिममा परेका आठ गर्भवतीको सफल शल्यक्रिया गर्न सफल भएको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक शङ्करप्रसाद राउतले जानकारी दिए । एसएनसीयू र आइसीयूमा राख्नुपर्ने अवस्थामा मात्रै सुत्केरीको हेलिकोप्टरबाट उद्धार गर्ने गरिएको उनको भनाइ छ ।

‘पेटमा उल्टो बच्चा भएको, बच्चा खेल्ने पानी सुकेका, सुत्केरी हुन तोकिएको म्याद नाघेर पनि सुत्केरी हुन नसकेका लगायत जटिल प्रकारको शल्यक्रिया पनि सफल रुपमा गरेका छौँ,’ डा राउतले भने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली नआउँदा दुई वर्षसम्म डोल्पा अस्पतालको सम्पूर्ण शल्यक्रिया सेवा ठप्प भएको थियो ।

पहिलाको भन्दा जिल्ला अस्पतालको प्रसूति सेवा धेरै राम्रो हुँदै गएको सुत्केरी हुन जिल्ला अस्पताल पुगेकी मनिषा रोकायले बताइन् । सुरक्षित प्रसूति सेवा नपाएर अकालमा ज्यान गुमाउँदै आएका ग्रामीण महिलालाई विशेषज्ञ सेवा दिएर ज्यानसँगै जिल्ला बाहिर लैजाँदा लाग्ने लाखौँ रकम जोगिएको अस्पताल प्रमुख डा. सिजन रावलले जानकारी दिए ।

ग्रामीण भेगका महिलामा चेतना बड्दै गएकाले सुरक्षित सुत्केरी गराउनका लागि अस्पताल आउनेको सङ्ख्या बड्दै गएको डा मेलिना हमालले बताइन् । चालू आवमा मात्रै ७० भन्दा धेरैको सुरक्षित सुत्केरी र आठको शल्यक्रियाबाट सुत्केरी गराएको उनले जानकारी दिइन् ।

कतिपय महिला नियमित स्वास्थ्य जाँचबिना नै एकैपटक सुत्केरी गराउन अस्पताल आउने गरेकाले कहिलेकाहीँ समस्या हुने हमालको भनाइ छ । अस्पतालमा ब्लड बैंकको व्यवस्था नहुँदा तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्थामा मान्छे खोजेर रगत दिन लगाउनुपर्ने अवस्था रहेको चिकित्सकहरुले गुनासो गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर