काठमाडाैं, वैशाख १५ : गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समितिले राहत वितरण, स्वदेश फिर्ता र पुनस्र्थापनाको कार्यक्रमलाई युद्धस्तरमा अघि सारेको छ।
एनआरएनएका महासचिव डा. हेमराज शर्माका अनुसार ४१ देशमा १ सय ५० भन्दा बढी सहरमा ९ सयभन्दा बढी स्वयंसेवक राहतका लागि खटिएका छन् भने २४ हजारभन्दा बढी गैरआवासीय नेपालीले राहत सामग्री प्राप्त गरेका छन्।
संघका राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय परिषद्ले स्थापना गरेको २४ घण्टे हटलाइनबाट ७ हजारभन्दा बढी नेपालीले परामर्श लिएको डा. शर्माले जानकारी दिएका छन्। ७० जनाभन्दा बढी मेडिकल डाक्टरले १ हजार २ सयभन्दा बढी नेपालीलाई स्वास्थ्यसम्बन्धी परामर्श दिएका छन्।
यस्तै राष्ट्रिय समन्वय परिषद्ले पौने ३ करोड रुपैंयाँको राहत कोष स्थापना गरिसकेको छ। कोषको रकम बढ्दो छ। एनआरएनए कोरिया, चीन, मकाउ, हङकङ र युएईले २ करोड रुपैयाँभन्दा बढीको स्वास्थ सामग्री नेपाल पठाएका छन्।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५ करोड रुपैयाँको राहत कोष लक्ष्यसहित ‘फन्ड रेजिङ क्याम्पेन’ अगाडि बढाएको संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जनाए।
यसको लागि संघले क्राउड फन्डिङ क्याम्पेनिङ (धेरै जनाबाट थोरै थोरै रकम उठाउने व्यवस्था) गरेको छ। डेबिट वा क्रेडिट कार्डबाट अनलाइन (www.nrna.org) वा मोबाइल फोनको रेस्पेक्ट एन्ड राइज एप्स प्रयोग गरी डोनेसन गर्न सकिने व्यवस्था गरेको संघको कोभिड १९ उच्चस्तरीय समितिले जनाएको छ।
संघले स्थानीयरुपमा सहयोग जुटाउन अफ्ठेरो परेका देशहरुमा आइसिसीले राहत रकम वितरण सुरु गरिसकेको जनाएको छ। हालसम्म मध्यपूर्वका कुवेत, युएई, साउदी अरबलाई ५-५ हजार युएस डलर र युरोपको साइप्रसलाई ३ हजार युएस डलर रकम उपलब्ध गराएको छ।
आवश्यकता अनुसार अन्य देशलाई पनि उपलब्ध गराउने योजना रहेको संघका अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले जानकारी दिए।य संघ संस्थाहरुसँग निरन्तर सम्पर्क र सहकार्यमा काम गर्दै उच्चस्तरीय समितिले जनाएको छ।