नयाँ दिल्ली, वैशाख १८ : सुदूरपश्चिम प्रदेशवासीको रोजगारीको मुख्य गन्तव्य स्थल भारत हो। कोभिड-१९को सन्त्राससँगै भारतमा गरिएको लकडाउनपछि विभिन्न क्षेत्रमा काम गरिरहेका हजारौं नेपाली बेरोजगार भएका छन्।
भारतको नयाँ दिल्ली, मुम्बई, मद्रास, बैङ्गलोर, अहमदावाद, पञ्जाबलगायत ठाउँमा उद्योग, कलकारखाना, होटेल, गेष्टहाउस, ट्रान्सपोर्ट, खाना पकाउने (कुक) र सुरक्षा गार्डका क्षेत्रमा काम गरिरहेका नेपालीको रोजगारी गुमेको त्यहाँबाट फर्किएकाहरुले बताएका छन्।
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल र भारतमा गरिएको बन्दाबन्दी (लकडाउन) अघि र पछि गरी झण्डै एक लाख ३३ हजार नेपाली भारतबाट मात्रै सुदूरपश्चिम प्रदेशमा फर्किएको अनुमान छ। फर्किनेमध्ये अझैँ कैयौं नेपाली आफ्नो घर पुग्न नपाई सीमापारी र वारीका क्वारेन्टाइनमा बसिरहेका छन् भने कतिपय ‘होम क्वारेन्टाइन‘मा समेत बसेका छन्।
भारतमा कति नेपालीले रोजगारी गरिरहेको भन्ने एकिन तथ्याङ्क कसैसँग नभएपनि सुदूरपश्चिम प्रदेशको जनसङ्ख्याको करिब २५ प्रतिशत नेपालीले भारतमा काम गरिरहेको अनुमान छ। तीमध्ये कोरोनाको सन्त्रासका कारण झण्डै २० प्रतिशत नेपालीले रोजगारी गुमाएको त्यहाँबाट फर्किएका नेपालीहरू बताउँछन्।
दिल्लीको एक ट्रान्सपोर्टमा काम गर्दै आएका कैलाली गोदावरीका कृष्ण भट्टराईले कोरोनाको कारण भारतमा धेरै नेपालीले जागिर गुमाउनु परेको बताए। ‘जागिर छाडेर घर फिर्ता भई अहिले त्यसै बसिरहेका छौं’, उनले भने, ‘भारतमा ट्रान्सपोर्टको काम सुचारु हुने सम्भावना नदेखिँदा बेरोजगार भएका छौं।’
भारतको बैङ्गलोरमा कुकको काम गर्दै आएका कैलालीका किसन विकले १५/२० वर्षसम्म काम गरिसकेका कतिपय नेपालीहरूको नोकरी सुरक्षित नै रहे पनि ५/६ वर्षदेखि काम गर्दै आएका सबै नेपाली बेरोजगार बनेको बताए। कामको खोजीमा सात महिना अघि बैङ्गलोर पुगेका विकले भने, ‘कोरोनाको सङ्कटका कारण धेरै नेपाली अझैँ काम गरेकै ठाउँमा कोठामा बसिरहेका छन्, उनीहरुलाई खर्चको अभाव हुँदा साँझ बिहानको छाक टार्न समेत समस्या भएको छ।’
कोरोनाको सन्त्रासले आफ्नै देशमा पनि सङ्कट निम्त्याएपछि आफूलाई अब जीविकोपार्जन कसरी गर्ने भन्ने समस्या आइलागेको पीडितले बताएका छन्। लकडाउनका कारण उद्योग, व्यापार, व्यवसाय ठप्प हुँदा बेरोजागार भएर काम गरेकै ठाउँमा कोठामा बसिरहेका कैयौ नेपाली भारतमा सवारी साधन चलेमा स्वदेश फर्किने तयारीमा रहेको हालै भारतबाट फर्किएका पवन शाहले जानकारी दिए।
‘भारतमा काम गर्दा पाइने पारिश्रमिक घरमा पठाएर परिवारको जीविका चलेको थियो, तर लकडाउनका कारण त्यहाँ पनि काम नपाउँदा हातमुख जोर्ने ठूलो समस्या आइपरेको छ’, उनको दुखेसो छ। भारतबाट फर्किने क्रममा उनीहरू १४ दिनभन्दा बढी समय क्वारेन्टाइनमा बस्नु भएको थियो।
सुरुमा कोरोनाको ‘इपिसेन्टर‘का रुपमा सुदूरपश्चिम प्रदेश देखिएपछि सबैको ध्यान यो प्रदेशको कोराना रोकथाममा केन्द्रित भएको थियो। वैशाख पहिलो हप्ता यता प्रदेशमा कोरोनाका नयाँ सङ्क्रमित फेला नपरेको अवस्थामा यो प्रदेशमा कोरोनाको सङ्क्रमण दर हाल स्थिर छ। कोरोना पोजेटिभ भएको पुष्टि भएकामध्ये सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत चार जना निको भई घर फर्किसकेका छन् भने एक जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। (रासस)