बहराइनमा १५७ नेपालीमा कोरोना संक्रमण
शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

बहराइन, वैशाख २० : बहराइनको स्वास्थ्य मन्त्रालयले हालसम्म १ सय ५७ जना नेपालीमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि गरेको हो। मन्त्रालयले यसको जानकारी बहराइनस्थित नेपाली दूतावासलाई दिइसकेको छ। बहराइनमा थप ३१ जना नेपालीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ ।

यसअघि वैशाख १६ गते एकैदिन बहराइनमा ७७ जना नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण रहेको पाइएको थियो। बहराइनमा ३५ हजार नेपाली कामदार कार्यरत रहेका छन्।

नेपाली कामदारहरू रहेको एक क्याम्पमा एक विदेशी कामदारमा कोरोना भाइरस देखिएको थियो। त्यसपछि त्यहाँ रहेका नेपाल लगायत अन्य देशका कामदारको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको पाइएको हो।

बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म बहराइनमा ३ हजार १ सय ७० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये ८ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १ हजार ५ सय ५५ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्।

अहिले बहराइनमा १ हजार ६ सय ७ जना संक्रमित उपचारत छन्। उपचारतमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। बहराइनमा हालसम्म १ लाख ३४ हजार ८२ जनामा कोरोना भाइरस परीक्षण गरिसकिएको छ।

संक्रमितहरूले क्वारेन्टाइन अवज्ञा गरेको पुष्टि भएमा ३ महिनासम्म जेल सजाय अथवा १ हजारदेखि १० हजार बहराइनी डिनार जरिवाना वा दुवै सजाय हुने व्यवस्था बहराइनले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर