माल्टामा नेपाली अलपत्र, एनआरएनएका पदाधिकारी नै एजेन्टको धन्दामा
आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित

बार्सिलोना, वैशाख २१ : युरोप र उत्तर अफ्रिकाको बीचको सानो युरोपेली मुलुक छ माल्टा । जहाँ रोजगारीका लागि आएका नेपालीहरु अहिले अलपत्र परेका छन्। म्यानपावर वा व्यक्तिगत स्पोन्सरसिपमा एजेन्टमार्फत १२ लाख रुपैयाँसम्म तिरेर माल्टा आएका नेपालीहरु काम नपाएपछि समस्यामा परेका हुन्।

पाँच महिनाअघि माल्टा आइपुगेका गोर्खाका रामप्रसाद बगालेले आफू बिचल्लीमा परेको बताए। उनले भने, ‘खाएर बसेर ८० हजार रुपैयाँ महिनामा बचत हुने प्रलोभनमा पारेर ल्याउनुभयो। रहरले विदेशिएको होइन, घरको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि ऋण गरेर विदेशिएका हौं। एजेन्टहरुले अलपत्र अवस्थामा पारिदिए ।’

खान बस्नमा समस्या भएको भन्दै  एजेन्टहरुलाई हारगुहारगर्दा पनि सहयोग नपाएको गुनासो बगालेले पोखे, ‘कोरानाले गर्दा काम पनि पाइएको छैन, धेरैथोरै सहयोग गरिदिनुपर्‍यो भन्दा पनि कुनै मतलव गर्दैनन्।’

गुल्मी तम्घासकी अनिता गौतमको भोगाइ पनि उस्तै छ। उनले सुनाइन्, ‘आश्वासनमा परेर माल्टामा आइयो। तर, यहाँ खान बस्नका लागि नेपालबाट नै रकम झिकाउनुपर्ने बाध्यता छ।’ पाँच महिनादेखि घरबाटै पैसा मगाएर आफू चलिरहेको उनले सुनाइन्।

गौतमले भनिन्, ‘जसले हामीलाई सहयोग गर्छ भनेर सोचिरहेका हुन्छौं, उहाँहरुबाट नै धोका पाएका छौँ। यसरी ल्याउने काम एनआरएनए माल्टाका कार्यसमिति भित्रैबाटै भएको छ। समितिभित्र कति हुनुहुन्छ र बाहिरी कति हुनुहुन्छ, मलाई यकिन थाहा छैन। तर, यसरी मान्छे ल्याउने काम गर्नुभएको छ।’

माल्टामा रहेका नेपालीहरुसँग भर्चुअल लाईभ बहस गर्दा एनआरएनए माल्टाका पदाधिकारीहरु पनि सहभागी थिए। गौतमले भनिन्,’जिम्मेबारी त निभाउनुपर्छ नि, समस्या के छ भनेर बुझ्नुपर्यो नि। विदेशमा लाखौँ खर्च गरेको आएका छौं। मान्छेहरु डिप्रेसनमा जाने, सुसाइटका घटना यिनै कारणले घटेका हुन्।’

एनआरएन अध्यक्ष र महासचिवले गल्ती स्वीकारे :-

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका अध्यक्ष राजु अर्याल (बाबु) ले व्यक्तिगत स्पोन्सरसिपमा एजेन्टमार्फत आफ्नो परिवार, नजिकका आफन्त र नातेदारलाई माल्टा झिकाएको स्वीकार गरेका छन्।

मैले आफन्तीहरु ल्याएको छु। अध्यक्ष अर्याल भन्छन्, ‘मैले गर्ने होइन, यहाँका एजेन्टहरुलाई डकुमेन्ट बुझाउने हो। उहाँले मागेको रकम दिएर नेपालीलाई सहयोग गरेर मात्रै हो। आफन्तीलाई म्यानपावर व्यवसायीसँग वा अन्य माध्यमबाट ल्याउनुभन्दा केही सहुलियत रकममा ल्याउन सकिन्छ भनेर सहयोग गरेको हुँ।’

अहिले उनीहरु अलपत्र परेका छन्, यसको जिम्मेबार तपाई बन्ने कि नबन्ने ? अनलाइखबरको प्रश्नमा उनले समस्यामा परेका नेपालीहरुलाई सहयोग गरिरहेको बताए। अर्यालले भने, ‘जसले ल्याएको छ, उही जिम्मेबार बन्नुपर्छ। योबारे सचेत छौ।’

आफूले केही सहुलियतमा कम्पनीमा लाग्ने रकममात्र लिएर माल्टा ल्याएको उनी स्वीकार्छन्।

संघका महासचिव सन्देश केसीले मानिसहरू ल्याएको स्वीकार गर्दै आफ्नो जिम्मेवारी आफैंले लिने बताए। उनले भने, ‘कार्यसमितिका साथीहरु जसले कामदार ल्याउनुभएको छ, उहाँहरुले पूर्ण जिम्मेवारीका साथ हेर्नुहुन्छ भन्ने लाग्छ। मेरो व्यक्तिगत तवरबाट आफ्नो जिम्मेवारी निभाउँछु।’

केसीले माल्टामा नेपाली ल्याउन नेपालीनेपालीबीच नै प्रतिस्पर्धा हुने खुलासा समेत गरे। केसीले भने, ‘नेपालीहरुको एजेन्ट बन्न नै प्रतिस्पर्धा हुने गर्छ। कुनै कम्पनीले एक ब्यक्तिको दुई हजार युरो लिन्छु भन्यो भने अर्को नेपाली पुगेर ३ हजार युरो तिर्छु भनिदिन्छ। त्यसैले पनि नेपालदेखि मोटो रकम बुझाउनुपरेको हो।’

उनले व्यक्तिगत स्पोन्सरसिपमा माल्टा आउFदा कडाइ हुने हुँदा श्रमस्वीकृतिदेखि एयरपोर्टसम्म सेटिङका नाममा समेत ठगी हुने गरेको बताए।

एनआरएनए माल्टा गठन गर्न पहल गरेका सोम सापकोटा गत बर्षदेखि त्यहीँ ब्यापार गर्दै आएका छन्। उनको संलग्नताबारे जिज्ञासा राख्दा आफूले त यस्तो कार्य रोक्ने प्रयास गरिरहेको बताए।

एनआरएनए आइसीसी सल्लाहकारसमेत रहेका सापकोटाले भने, ‘यहाँ एनसीसी गठनपूर्व नै यस्ता घटनाहरु भएको पाइयो। तर, एनआरएनको गठनपछि न्यून हुँदै आएको छ। यसलाई पूर्णरुपमा रोक्ने प्रयास भइरहेको छ।

एनआरएनए माल्टाका अधिकांश कार्यसमिति सदस्यहरु लगायतका दर्जनौं नेपालीहरुले एजेन्टको काम गरिरहेको खुलासा भएको छ। झण्डै डेढ बर्षदेखि माल्टामा बस्दै आएका बिकास काफ्लेले माल्टामा दर्जनौं  नेपाली एजेन्टहरु रहेको बताए। उनले भने, ‘नयाँदेखि पुरानासम्म नेपालीहरुले यस्तै काम गरिरहनुभएको छ, यो काम रोकिएन भने झन् भयावह अjस्था आउँछ।’

एजेन्टहरुको डर त्रासकै कारण पीडितहरुले आफ्ना समस्या बाहिर नल्याएको काफ्लेले बताए। ‘क-कसको संलग्नता छ यो बारे सुक्ष्म छानविन हुनुपर्छ। तीन सय युरो पनि खर्च नलाग्ने प्रक्रियामा लाखौँ रकम खर्चनुपर्ने बाध्यता कसले बनायो ?’ काफ्लेले प्रश्न गरे।

ब्रिटेनको पूर्वउपनिवेश माल्टा अहिले नेपालीहरुका लागि युरोप छिर्ने बाटो बनेको छ। कतिपय नेपालीहरु माल्टा हुँदै स्पेन र पोर्चुगल आउने गरेका छन्। एकातर्फ रोजगारीका नाममा नेपालीले नेपालीलाई  नै ठगिरहेका छन् भने अर्कोतर्फ माल्टाको सरकारले आफ्नो देशको भिसाको दुरुपयोग भएको भन्दै गुनासो पोखिसकेको छ।

प्रचलित नियमअनुसार कारबाही हुन्छ– दूतावास 

कुनै पनि गैरकानुनी काममा संग्लग्न्न रहेको प्रमाण भएमा दोषीलाई प्रचलित कानुनअनुसार सजायँ हुने माल्टालाई समेत हेर्दै आएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ। दूताबास उपनियोग प्रमुख शरदराज आरनले पीडितहरु कसैले पनि दूतावासमा उजुर नगरेको बताए।

आरनले भने, ‘नेपाल सरकारका सम्बन्धित निकायहरुमा र माल्टा सरकारमा पनि जानकारी गराउने र उनीहरुलाई ब्ल्याक लिष्टमा राख्नेदेखि प्रचलित नियमहरु जे पनि कारबाही हुनसक्छ।’ सबै डिटेल खुलाएर दूतावासमा उजुरी हाल्न उनले अनुरोध गरे। अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर