दमौली, वैशाख २७ : गण्डकी प्रदेश सरकारले तनहुँको दमौली अस्पतालमा निर्माण गर्न लागेको सघन उपचार कक्ष (आइसियु) को आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले शुक्रबार निरीक्षण गरेका छन । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले ११ वटै प्रदेशमा सघन उपचार कक्ष बनाउने निर्णयपछि मन्त्री चुमानले आफ्नै गृहजिल्लाको अस्पतालको निरीक्षण गरेका हुन ।
विसं २०५९ मा जिल्ला अस्पतालका रुपमा स्तरोन्नति भएको दमौली अस्पतालमा अहिलेसम्म सघन उपचार कक्ष नरहेकामा कोभिड–१९ का कारण अस्पतालमा सघन उपचार कक्ष निर्माण हुने निश्चित भएको छ । अस्पतालको निरीक्षण गर्दै मन्त्री चुमानले अस्पतालको वर्तमान अवस्थाका बारेमा जानकारी लिए । मन्त्री चुमानले मनाङ र मुस्ताङमा दुई/दुई श्ययाको र बाँकी अस्पतालमा पाँच/पाँच श्ययाको सघन उपचार कक्ष निर्माणका लागि बजेट विनियोजन भइसकेको जानकारी दिए ।
मन्त्री चुमानलाई अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालमा निर्माण गर्न लागिएको सघन उपचार कक्ष स्थलको जानकारी गराउनुभयो । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लाका अस्पतालमा सघन उपचार कक्ष निर्माणका लागि बजेट विनियोजन गरेपछि दमौली अस्पतालमा पनि सघन उपचार कक्ष निर्माण हुने निश्चित भएको अधिकारीले बताए ।
“अस्पतालमा स्तरोन्नति भएको १७ वर्षपछि पहिलोपटक सघन उपचार कक्ष निर्माण हुन लागेको छ । कोभिड–१९ यसका लागि अवसर बनेर आयो”, अधिकारीले भने, “कोभिड–१९ को प्रकोप नभएको भए अझै कति वर्षसम्म सघन उपचार कक्ष निर्माण हुन सक्दैनथ्यो होला ।” गण्डकी प्रदेश सरकारले ११ जिल्लाका अस्पतालमा सघन उपचार कक्ष निर्माणका लागि रु १४ करोड बजेट विनियोजन गरेको छ ।
मनाङ र मुस्ताङमा दुई/दुई श्ययाको र बाँकी जिल्लाका अस्पतालमा पाँच/पाँच श्ययाको सघन उपचार कक्ष निर्माण गरिने सरकारले जनाएको छ । दमौली अस्पताल विकास समितिका अध्यक्ष अधिकारीका अनुसार अस्पतालको पुरानो भवनमा सघन उपचार कक्ष निर्माणका लागि प्रदेश सरकारलाई प्रस्ताव पेश गरिएको छ ।
“प्रदेशको मन्त्रिपरिषद्ले बजेट विनियोजन गरिसकेको छ, सामाजिक विकास मन्त्रालयले सघन उपचार कक्ष निर्माणका लागि जिल्ला अस्पताललाई बजेट उपलब्ध गराउनेछ”, अधिकारीले भने । जिल्लास्तरीय अस्पतालमा नै सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौँ पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भारसमेत पर्दै आइरहेको छ ।
“कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि दमौली अस्पतालको पुरानो भवनलाई आइसियुसहितको उपचार केन्द्र बनाउने गरी पूर्वाधार निर्माणमा जुटेका छौँ”, अधिकारीले भने, “तत्कालका लागि आइसियु कक्ष कोरोना लक्षित भए पनि भविष्यमा आइसियु कक्षले अन्य बिरामीलाई पनि सेवा प्रवाहमा सहज हुनेछ ।” १५ रोपनी १४ आना जग्गामा फैलिएको अस्पताल थप जग्गाको अभावमा स्तरोन्नति हुन सकेको छैन ।
अस्पताल विकास समितिका अनुसार ५० श्ययाको अस्पताल बनाउन ३५ देखि ८० रोपनी जग्गा आवश्यक पर्छ । विसं २०३४ मा स्वास्थ्य चौकीका रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो । विसं २०७२ मा अस्पतालको आफ्नै सुविधासम्पन्न भवन निर्माण भएको थियो ।
सोही वर्ष अस्पतालमा डायालाइसिस सेवा शुरु गरिएको, विसं २०७३ मा मानसिक उपचार केन्द्र स्थापना गरिएको अस्पतालमा विसं २०७४ मा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो । अस्पतालमा हाल सरकारी दरबन्दीमा एक मेसु, दुई मेडिकल अधिकृत, पाँच स्टाफ नर्स/अनमी, तीन एचए, एक रेडियोग्राफर, दुई ल्याब टेक्निसियन÷असिस्टेन्ट, दुई प्रशासनतर्फ कर्मचारी र दुई कार्यालय सहायक कार्यरत छन् ।
अस्पतालले आकश्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायालाइसिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । बन्दाबन्दीमा निर्माण जारी एक सय नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत तनहुँको भीमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफामा पूर्वाधार निर्माणको कामलाई जारी राखिएको छ ।
कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू गरिए पनि सिद्धगुफा विकास समितिले सामाजिक दूरी कायम गरी पूर्वाधार निर्माणलाई जारी राखेको हो । बन्दाबन्दीमा सावधानी अपनाएर गुफा क्षेत्रमा शौचालय, प्रतीक्षालय र रेलिङ निर्माण शुरु गरिएको विकास समितिका अध्यक्ष दधिराज सुवेदीले जानकारी दिए । उक्त पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो किस्तावापत २५ लाख विनियोजन गरेको छ भने भीमाद नगरपालिकाले पाँच लाख विनियोजन गरेको छ ।
शौचालय, प्रतीक्षालय र रेलिङ निर्माणका लागि ३५ लाख बजेट लाग्ने र थप रु पाँच लाख समितिले बेहोर्ने सुवेदीेले जानकारी दिए । सिद्धगुफा भ्रमणका लागि आउने पर्यटकलाई लक्षित गरी अपाङ्गमैत्री शौचालय निर्माण शुरु गरिएको छ । त्यस्तै विकास समितिको कार्यालयसहित प्रतीक्षालय र गत वर्ष निर्माण सम्पन्न भएको वनभोजस्थलमा रेलिङ हाल्ने काम पनि भइरहेको छ । पूर्वाधार निर्माणका लागि आठजना कामदार खटिएका छन् ।
“सुरक्षितरुपमै बसिरहेका कामदार प्रयोग गरी सुरक्षा सतर्कतासहित पूर्वाधार निर्माणको काम गरिरहेका छौँ”, सुवेदीले भने । मन्त्रालयबाट दोस्रो किस्तावापतको रकम आएपछि गुफा क्षेत्रमा उद्यान निर्माण गर्ने सोच बनाइएको छ भने प्रदेश सरकारबाट प्राप्त हुने रकमले पर्यटन पदमार्ग बनाउने तयारी गरिएको छ । सुवेदीका अनुसार पर्यटक आकर्षित गर्न गुफामा पूर्वाधार निर्माणलाई जोड दिइएको छ ।
भ्रमण वर्ष, २०२० मा यस ठाउँमा करिब एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको भए पनि कोभिड–१९ को जोखिमका कारण सरकारले भ्रमण वर्ष स्थगित गरेको छ । कोभिड–१९ को जोखिम नियन्त्रण भएपछि यस ठाउँले धेरै पर्यटकलाई आकर्षित गर्ने विश्वास गरिएको छ । यस अगाडि गुफा जाने बाटोमा रेलिङसहितको सिँढी, प्रतीक्षालय, वनभोजस्थल र पार्किङ निर्माण सम्पन्न भइसकेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त ३६ लाख, समितिको ६ लाख र सहयोगबाट उठेको १० लाख गरी ५२ लाखको लागतमा पूर्वाधार निर्माण गरिएको छ । समितिले विसं २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही गुरुयोजनाबमोजिम समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।
समितिले यसअघि जिदीखोलादेखि सिद्धगुफासम्म र सिद्धगुफाबाट चमेरो गुफासम्म पुग्ने एक किमी दूरीमा ढलान सिँढी, सिद्धबाबाको मन्दिर, तीनवटा शौचालय, पानीको दह निर्माण गरिसकेको छ । ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । दुई सय मिटर लामो यो गुफामा चार तलाको रहेको छ ।
गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा ५०० जना अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० जना मानिस अट्न सकिन्छ । प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने यो गुफाको चौथो तल्लाको ढोका भने चुनको रसायनले बन्द भएको छ ।
जिदी खोलाको किनारको घनाजङ्गल क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँढ, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ । व्यापारिक केन्द्र भीमाद बजारबाट आधा घण्टा मोटरको यात्रापछि २० मिनेट पैदलयात्रामा गुफा पुग्न सकिन्छ ।