“गाउँ विकास नै देश विकासको मूल आधार”
शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

राजिव भण्डारी


नेपाल एक भुपरिवेष्ठित राष्ट्र हो । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म फैलिएको देश नेपाल एक विकासोन्मुख देशको रुपमा परिचित छ । मूलत देश विकासको मेरुदण्ड भनेकै गाउँको विकास हो । उल्लेखित सन्दर्भमा परिवार, समाज र गाउँको विकास विना देशको विकास सम्भव हुँदैन ।

वर्तमान परिवेशमा हेर्दा संघिय संरचना अनुसार ७५३ स्थानिय तहमा र सात प्रदेशमा विभाजन गरिएको छ । जङ्गली सभ्यता संगै विकासको गतिमा अगाडि बढेको मान्छे आजको यान्त्रिक समाजसम्म आइपुग्दा उसको जीवनप्रतिको दृष्टिकोण तथा विकासको परिभाषामानै व्यापक परिवर्तन आएको पाइन्छ ।

आजको मानव भव्य ठाउँमा बसेर सभ्य गनिन चाहान्छ । जसका लागि उसले आफु जन्मेको माटो भुलेर बाटो मोडेको शहरका निम्ति गाउँ छोडेको छ । शहर र गाउँका बिचमा लामो रेखा कोरेको छ । आजको मानव समाजमा शहरप्रतिको मोहले गर्दा गाउँका उर्वरा भूमिमा विकासको उज्यलो किरण हैन वनमारा र तितेपाती झ्याङ्गिदै दिउँसै र्याई र्याई फट्याग्रो कराउँछ ।

शहरमा त्यहि जग्गाको मालिक भारतिय डोसा चपाउँछ । कुनैपनि गाउँको विकास हुनका लागि त्यस क्षेत्रमा पिउने पानी, स्वास्थ्य शिक्षा, यातायात र दुरसञ्चारको विकास हुनु आवश्यक छ । स्थानिय क्षेत्रमा रोजगारमूलक व्यावसाय, पशुपालन, कृषिमा आधुनिकिकरण, जडिबुटी योग्य वनस्पति उत्पादनमा जोड, आन्तरिक तथा वाह्य पर्यटकका लागि पर्यटन क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिलाउन सक्नु जस्ता कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडि बढाउन उचित देखिन्छ ।

यसका अलावा ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक क्षेत्रहरुको पनि संरक्षण गर्नाले धार्मिक पर्यटकहरुबाट पनि केही मात्रमा आयआर्जन गर्न सकिन्छ । विधमान प्राकृतिक स्रोत र साधनका् सदुपयोग गर्नाले विदेशमा पलायन युवा दक्ष जनशक्तिलाई समेत गाउँ केन्द्रित रोगगारमूलक कार्यक्रम सिर्जना गरी शिक्षित तथा दक्ष वर्गलाई समेत देश विकासमा टेवा पुर्याउन सहयोग लिन सकिन्छ ।

वर्तमान सन्दर्भमा शिक्षा, स्वास्थ्य र रोजगारी शहर केन्द्रित नभई गाउँका सर्वसाधारण जनताको पहुँचमा हुनु जरुरी छ । गाउँ र देश एक अर्काका पर्याय हुन् । शहर अनि देश भन्नाले एउटा देशको परिभाषालाई व्यक्त गर्न सक्दैन । खासगरी नेपालको परिप्रेक्षमा त झन् पटक्कै भन्न सुहाउँदैन । नेपाल जनसंख्या र क्षेत्रफल दुबैमा शहर भन्दा गाउँ अगाडि छ ।

तर विकासका कार्यक्रम भने शहर केन्द्रित हुँदा सम्पूर्ण शरिर रोगले ग्रसित भएको अवस्थाको मानिसको कुनै एक अङ्गमा उपचार सीमित गराउनु जस्तै हो । ‘गाउँ बने देश बन्छ’ भन्ने कथनलाई सार्थक पार्न तथा सही अर्थमा देशको विकास गर्नका लागि विकासको पूर्वाधार गाउँमा तयार पारिनु पर्छ । देश विकासको आधार गाउँलाई मानिनु पर्छ । देशको विकास गर्नका लागि गाउँको जमिनमा उचित शक्तिको परिचालन गरिनुपर्छ ।

जमिन, जलस्रोत र जनसंख्याको उचि व्यवस्थापन गाउँमा गर्न सकिएको खण्डमा गाउँको विकास हुन्छ । जब गाउँको विकास हुन्छ, सँगै शहरको विकास र सम्पूर्ण देश विकास हुन सक्छ । उल्लेखित सन्दर्भमा यि विविध कार्यहरुले गाउँको विकास भएमा मात्र देशको विकास हुने कुरामा दुई मत नरहेको कुरा प्रष्ट पार्न चाहान्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर