डुंगाका यात्री नेता, माझीदाई कार्यकर्ता
सोमबार, भदौ २२, २०७७ मा प्रकाशित

अनुभूति
रमेश कुमार थापा

लामो समय देखि घर बाहिरको गतिविधि लगभग सून्य छ । घरमा पनि खासै काम छैन । समय बिताउने सजिलो उपाय सामाजिक संजाल बनेको छ । बिहान, दिउसो, सांझ जतिबेला पनि मोबाइल र कम्प्युटरमा आँखा जोतेर समय ब्यतित भएको छ । फेसबुकका पाना पल्टाउने क्रममा केहि दिन अगाडि राज कुमार शर्माको स्टाटसमा आँखा पर्यो । राज कुमार शर्मासंग त्यति गहिरो ब्यक्तिगत सम्बन्ध नभएपनि जनयुध्दकालमा नै परिचय भएको थियो । माओबादी पार्टीमा वहाँलाई ‘आर्ट’ भनेर सम्बोधन गरिन्थ्यो । वहाँको बोली, ब्यवहार, हाउभाउ र कार्यशैली मलाइ मन पर्दथ्यो । हुनत त्यतिबेलाका प्रायः सबै नेताका बोलि, बचन र ब्यवहार मिठा र रशिला नै हुने गर्दथे । शायद संगठन निर्माण र जनसमर्थन बटुल्नका लागि पार्टीले अंगिकार गरेको शाम, दाम, दण्ड, भेद अन्तर्गतको एउटा कला र अस्त्रको प्रयोग पनि थियो कि भन्ने लाग्न थालेको छ आजकल मलाई । म कर्मचारी राजनीतिमा सक्रिय रहेका बखत कुनै समय वहाँ मेरो इञ्चार्ज पनि हुनुहुन्थ्यो । मेरो मोटामोटी जानकारी अनुसार राज कुमार शर्मा हाल रुकुम पश्चिम जिल्ला समन्वय समितिको संयोजक हुनुहुन्छ । केहि बर्ष यता वहाँसंगको भेटघाट दुर्लभ बनेको थियो झन ऐले त कोरोनाले नै भेटघाट बर्जित गरेर बारबन्देज लगाइदिएको छ । गुनासो गर्ने ठाउँ नै रहेन ।
वहाँले कुन प्रसंगमा त्यो स्टाटस लेख्नु भयो होला भन्ने खुल्दुलि पनि लाग्यो मलाइ । उदित नारायण झाको सुमधुर स्वरमा घन्किने माझी दाइले जुनिभरी डुंगा तारि रहे, अरुलाई तार्दा तार्दै आफु चाहि वारी रहे भन्ने बोलको गीतको अंश वहाँले फेसबुकमा पोष्ट गर्नु भएको थियो । मैले एकपटक त्यो निर्जिव डुंगा अनि त्यहि डुंगामा जोडिएको माझीको जिन्दगीलाइ फर्केर नियाल्ने कोशिस गरें । कस्तो भावनात्मक सम्बन्ध छ त्यो डुंगासंग माझीदाइको । पानीसंगको यात्रामा जे जस्तो अप्ठ्यारो अवस्था आइपरे पनि पार लगाउछ भन्ने डुंगा प्रति माझीको बिश्वास रहेको पाइन्छ ।
यसै प्रसंगमा जागिरे जीवनको एउटा घटना मलाइ सम्झना छ । बर्दियामा गेरुवा नदी पश्चिमको गोला भन्ने ठाउँमा निकुञ्जको पोष्ट थियो । त्यो पोष्टले वन्यजन्तुको चोरीशिकार गर्ने मानिस पक्राउ गरेको रहेछ । गोलामा सेना मात्र बस्ने भएकोले मुचुल्का लगायतका कागजि प्रकृया पुरा गर्नका लागि ठाकुरद्वाराबाट म लगायत सानो सेनाको टोली गोला जानु पर्ने भयो । त्यतिबेला कणर्ालीको मुल भंगालो गेरुवा तर्फ भएकोले डुंगाबाट तर्नु पर्दथ्यो । पश्चिम कणर्ाली तर्फ सजिलै तर्न सकिने खालको सानो पानी थियो । हामी गेरुवा नदीको पूर्वी किनार गोला घाटमा पुग्दा ल्वाँचे दाइ (वहाँको वास्तविक नाम थाहा नभएकोले माफि चाहन्छु) काठको डुंगा लिएर हामीलाइ तार्नका लागि आएर बसेका रहेछन । हामीलाइ नदी वारपार गराइदिने काम उनले नै गर्दै आएका थिए । उनले डोरी तानेर रोकेपछि हामी डुंगामा बस्यौं तर सेनाका मानिसहरु डुंगामा बस्न आनाकानि गर्न थाले । मैले के भयो भनी सोध्दा हतियारका कारण उनीहरुलाइ समस्या परेको रहेछ । सानो काठको डुंगा पल्टियो भने भिरेको हतियारको बोझले मानिस पनि डुब्ने खतरा भएकोले उनीहरु डराएका रहेछन । ल्वाँचेले उनीहरुका तीन थान हतियार मागेर डुंगाको एउटा टु्पोमा डोरीले कसेर बाँधे अनि सबै जनालाई डुंगा खियाएर नदी पारि पुर्याईदिए । पारि पुगेपछि हामी आफ्नो हतियार, सामान लिएर पोष्टमा पुगि काम सम्पन्न गरेर फर्किने तरखरमा थियौं । यतिकैमा ल्वाँचेले हामीलाइ सतर्क गराउँदै भने कि यो पक्राउ परेको मान्छे खोलामा खेल्न शिपालु छ, यसलाई डुंगामा राखेर लग्दा बिच नदीमा डुंगा हल्लाएर आफु भाग्ने र तिमीहरुलाइ पनि बिच नदीमा डुबाउन सक्छ, यसलाइ त सुरक्षित साथ लैजानु पर्दछ । वहाँको कुरा सुनेपछि हामी डूगाबाट छोटो दुरीको यात्रा परित्याग गरी पैदल हिंडेर कणर्ाली नदी तरेर कटासे हुंदै कणर्ाली चिसापानीमा फेरिबाट नदीपार गरी ठाकुरद्वारा पुगेका थियौं । त्यहाँ लवाँचेले बदनियत राखेको भए हामी सबैको जीवन खतरामा पनि पर्न सक्दथ्यो । तर उनले समयमानै हामीलाइ सजग गराएर आफ्नो कर्तब्य पुरा गरे । नदीको स्वाच्छ जलसंग मितेरी लगाउदै नदी किनारलाई आफ्नो संसार ठान्ने माझीको इमानदारीताको सानो नमूना थियो यो । डुंगामा चढिसकेपछि यात्री सकुशल पारि पुगुन भन्ने पबित्र चाहनाको प्रतिबिम्ब थियो माझीको ।
माझीदाईले जुनिभरी डुंगा तारिदिने र डुंगामा बसेर ठूला ठूला नदी पार गरीसकेपछि माझीदाइलाई धन्यवाद सम्म पनि नभनी गजक्क परेर बाटो लाग्ने प्रबृति नेपालको राजनीतिमा पनि मौलाएको रोग हो । शायद वहाँले यसैलाइ इङ्गित गर्न खोज्नु भएको हो कि जस्तो पनि लाग्यो मलाई । त्यसपछि मैले एकपटक ती नेता भनाउँदाहरुको अनुहार सम्झें अनि ति बफादार कार्यकर्ताहरुको अनुहार सम्झें । मैले सधैं आफ्नो लागि, केबल आफ्नो लागि मात्र कार्यकर्तालाई प्रयोग गर्ने नेतालाइ डुंगाको यात्रीको रुपमा बुझें अनि नेतालाई बिजयी गराउनका लागि बिगत देखि आज सम्म बिना सवार्थ, बिना शर्त एकोहोरो लागिपरेका कार्यकर्तालाइ माझीको रुपमा बुझें । हरेक चुनाबको बेला मात्र आफ्ना कार्यकर्तालाई चिन्ने, अघिपछि चिनेपनि नचिने झैं गर्ने । चुनाबको बेला अति आत्मिय र घनिष्ठ ब्यवहार गर्ने अनि चुनाब जितेर गैसकेपछि न भेट गर्न दिने, न फोन उठाउने ती नेता भनाउँदाहरु । अनि त्यहि नेतालाई चुनाबमा जिताउनका लागि मरिहत्ते गर्ने, लडाई, झगडा, कुटाकुट, टाउको फोडाफोड, नारा जुलुस गर्ने कार्यकर्ताहरु । चुनाब जितेर गैसकेपछि आफु, आफ्ना र आफन्तको हितमा मात्र पदको सक्ति खर्चिन तल्लिन रहने नेताहरु अनि हाम्रो नेतालाइ जिताएर पठाएका छौं अब हाम्रो लागि, हाम्रो समाजको लागि, हाम्रो गाउँठाँउका लागि केहि होलाकि भनेर आशा गर्ने कार्यकर्ताहरु । यहि फरक देखें मैले डुंगाको यात्रीरुपि नेतामा अनि माझीदाइ रुपि कार्यकर्तामा ।
हुनत राजनीतिमा मेरो त्यति लगाव र ढङ्ग छैन त्यसैले होला मेरो बुझाईमा जीवनभरी माझीरुपि कार्यकर्ता बनेर काम गरेकाहरु आज निरुत्साहित भएको देख्ने गरेको छु । सुखदः भविश्यको सपना र कल्पनामा बितेको आश्वासनको सुजेरो लामो प्रतिक्षा पछि खुलेको छ । तर जनता र कार्यकर्तामा उत्साह पैदा गर्ने र चित्त बुझाउने खालको खजाना देखिएको छैन । उहि पुराना टालाटुलि र झुम्रे पुतलि बाहेक अरु नया केहि नभएपछि ऐले कार्यकर्तालाइ बालुवाको च्युरा चपाए सरह भएको अनुभूति भएको होला भन्ने लाग्न थालेको छ । तसर्थ अब माझीदाइले जुनिभरी डुंगा तारिरहने, अरुलाइ तार्दा तार्दै आफु चाहिं वारि रहने परिपाटीलाइ पूणर्बिराम दिने बेला आएको हो कि ? पटक पटक थपक्क डुंगामा बसेर नदि वारपार गर्दै आएका यात्रु आफुले पनि नदी तर्नका लागि डुंगा खियाउनु पर्दछ भन्ने कुरा कहिले महशुस गर्ने? सधैं माझीदाइको पौरख र परिश्रममा डुंगामा बसेर नदी तर्न सफल भएकाहरुले अब आफुले डुंगा खियाएर माझीदाइलाई पनि नदी पारि तारिदिने समय आएन र ? भनी प्रश्न गर्न मन लाग्न थालेको मलाई आजकल ।

प्रतिक्रिया

सम्बन्धित खवर