राम प्रसाद चौहान
बर्दिया, बैशाख १
हत्या कसुरका फरार अभियुक्तलाई प्रहरीले १८ वर्ष पछि पक्राउ गरेको छ । प्रहरीले बढैयाताल गाउँपालिका–३ बाट सोमबार कृपाराम खटिक पक्राउ गरेको हो । खटिक १८ वर्ष देखि फरार थिए । ०६० साल कात्र्तिक १० गते बढैयाताल गाउँपालिका–३ बस्ने जित बहादुर गोदार क्षेत्रीको खटिकले बन्चरो प्रहार गरी हत्या गरेका थिए । बन्चरो प्रहार गरेर हत्या प्रकरणमा प्रहरीले यसअघि ९ जनालाई पक्राउ गरेको थियो ।
जिल्ला अदालतले ०६८ साल जेठ १० गते खटिकलाई जनही २० वर्ष कैद सजाय तोकेको थियो । हत्यामा संलग्न रहेका अन्य आरोपीले जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् । हत्याको मुख्य आरोपी खटिक भने भारतमा आश्रय लिएर सुखी जिवन बिताईरहेका थिए ।
प्रहरीका अनुसार हत्यापछि खटिक खुला सीमानको फाईदा उठाएर भारत पसेका थिए । लामो समय भारतमा बसेका खटिक प्रसिद्ध व्यसायीको रुपले चिनिन्छन् । नेपाल अपराधी बिल्ला लगाएका खटिक नाम र दाम कमाएका थिए । भारतको रुपैडिया र नानपारामा
व्यवसायिक जिवन बिताएका उनलाई पक्राउ गरेर प्रहरीले अदालतमा बुझाउँनु ‘फलामको चिउरा चपाए’ सरह थियो । भारतीय प्रहरीको सेटिङमा बसेका खटिकलाई यसअघि पक्राउ गर्ने प्रयास भएपनि सफल हुन सकेको थिएन । गोप्य सूचनाको आधारमा सक्रियताका साथ खटिएको प्रहरीले खटिकलाई नियन्त्रणमा लिनु ठूलो सफलता मानिएको छ । रुपैडियाको मोहनपुरमा स्थायी घर बनाएका खटिक भारतीय राजनितिमा सक्रिय रहेको खुलेको छ । धानको मिल, कृषि तथा भैसी पालन व्यवसाय गरी आफ्नो परिवारसंगै जीवनयापन गर्दै आएका खटिक प्रहरी जालोमा फस्नु प्रहरीको सफल रणनितिको उपज भएको चर्चा यतिबेला भएको छ । प्रहरीले खटिकलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको प्रहरी प्रमुख ईश्वर कार्कीले बताए । उनका अनुसार खटिकलाई जिल्ला कारागार चलान गरिसकेको छ । प्रहरीले पछिल्लो समय फरार अपराधी, लागु औषध, मानव बेचबिखन, अवैध चोरी पैठारी उल्लेखनिय प्रगति गरेको रेर्कडले पुष्टि गरेको छ ।
जघन्य अपराध, लागु औषध, चोरी सिकारी मुद्दामा फरार रहेका अपराधी पक्राउ गर्ने अभियानमा सफलता हासिल गरेको छ । लागु औषध मुद्दामा फरार रहेका यसै साता गुलरिया नगरपालिका–४ बस्ने २० वर्षिय आर्यन चौधरी पक्राउ परेका छन् । गत ३ गते अदालतको फैसला अनुसार १० महिनाको कैद तोकिएको थियो । कैद सजाय तोकेको दिन देखि चौधरी फरार थिए । प्रहरीले खोजतलास गर्ने क्रममा सोमबार गुलरिया नगरपालिका–४ तुलापुर स्थित लुकिछिपी बसेको अवस्थामापक्राउ गरेको हो ।
त्यसैगरी मंगलबार प्रहरीले बेवारिसे अवस्थामा राखिएको सामान बरामद गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–८ रिहारबाट अवैध सामान बरामद गरेको हो । भन्सार छली ल्याई बेवारिसे अवस्थामा राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रहरीकाअनुसार फोटो प्रिन्टर, लेमिनेशन पेपर र मसीमुल्य रु ९३ हजार ५ सय २२ बराबरको छ ।