बर्दिया, बैशाख ६(फरकसमाचार)
तापक्रमको पारो उकालो लागिरहेको बेलामा झ्याप झ्याप हुने बिद्युत कटौतीले उपभोक्ता मर्कामा परेका छन् । हावाहुरी नलागेको समयमा नै लाईन काटिदा स्थानीय आक्रोशित छन् । लाईन काटिएको समयमा उपभोक्ताले प्राधिकरणमा फोन गरेर जानकारी माग्दा समेत कार्यालय प्रमुख र अन्य कर्मचारीको समेत फोन नउठ्ने गरेको उपभोक्ता गुनासो गर्छन् ।
छिन–छिनमा बिजुली काटिदा समस्या भईरहेको स्थानीयको भनाई छ । ‘कति–कति बेला ५ मिनेटको अन्तरालमा बिजुली आउने जाने गर्छ, बिजुलीको यो लुकामारीले एकदमै दुख दिएको छ,’ गुलरिया नगरपालिका वडा नं. ५ मा बस्ने राजन केसीले गुनासो गर्दै भने ‘दिनमा पटक पटक आउने जाने गर्छ, विद्युतसँग जोडिएर काम गर्नेहरूलाई बिजुलीको यो लुकामारीले गर्दा काम गर्न एकदमै अप्ठ्यारो हुन्छ ।’
यस्ता समस्याबाट उद्योगी, पर्यटन व्यवसायी र विद्यार्थीहरुलाई मर्का परेको छ । हाई र लो भोल्टेजका कारण अधिकांशको घरमा जडान गरिएका ईलेक्ट्रोनिक सामान बिग्रिएका छन् ।
बर्दियामा यस्तो समस्या हालसालै मात्र देखिएको भने होइन । बिद्युत आपुर्ती सुधार नहुँदा बर्षौ देखि उपभोक्ताहरु पीडित छन् । विगत केही महिना झन् बिद्युत अनियमित हुने गरेको हो ।
जिल्लाको विद्युत सेवा अवरुद्ध भईरहने गरेकोले सदरमुकाम आसपासका व्यवसायी, कर्मचारी र विद्यार्थीहरुलाई सास्ती खेप्नु परेको छ ।
पटक पटक बिजुली आउने जाने गर्दा मोबाईल मर्मत गर्न समस्या झेल्नुपरेको गुलरिया बजार स्थित मोबाईल पसल गरेका प्रकाश थापाले दुख व्यक्त गरे ।
‘
आफुले गर्ने व्यवसायको काम विद्युतसँग जोडिएको छ, मोबाईल मर्मत गर्नका लागि विद्युतकै आवश्यकता हुन्छ तर दिनकै पटक पटक बिजुली आउने जाने गर्दा व्यवसाय सञ्चालन गर्न असहज भएको छ’ उनले भने, ‘मौसमको अवस्था नराम्रो भएको खण्डमा सुरक्षाका लागि एकदुई पटक बिजुली जाँदा केही फरक पर्दैन तर अन्य समयमा छिनछिनमा बिजुली जाँदा असहज भएको छ ।’
केन्द्रिय प्रसारणबाटै बिद्युत आपुर्ती अनियमित हुने गरेकोे नेपाल विद्युत प्राधिकरण बर्दियाका प्रमुख दिपक जंग चौधरीले बताउँदै आएका छन् ।
विद्युत सेवा अवरुद्ध हुने बित्तिकै नेपाल टेलिकमको नेटवर्कमा पनि समस्या आउने गरिरहेको छ । जसका कारण स्थानीय झनै पीडित हुने गरेका छन् ।
विद्युत जानेबित्तिकै गाउँगाउँका टावरले काम नगरेपछि सदरमुकामको टावरमा बढी लोड पर्ने भएकाले टेलिफोन नसुनिने, स्पष्ट आवाज नआउने गरेको छ ।
त्यसबाहेक अन्य दिनमा भने झ्याप्प झ्याप्प बत्ती गइदिँदा लाखौं रुपैयाँका सामानसमेत बिग्रिने जोखिम उत्तिकै हुने गरेको स्थानीय बताउँछन् । प्रमुख चौधरीसँग मोबाईलमा प्रतिक्रिया लिन खोज्दा टनकपुर र चमेलियाबाट विद्युत आपुर्ति आधा भन्दा कम भईरहेको बताए । गर्मी बढेकोले आपुर्ति कम माग बढी भएकोले जिल्लामा आपुर्ति सहज नभएको उनले स्वीकारे । उनका अनुसार कोहलपुर स्टेशनमा शुक्रबार भएको आगलागीले दुई दिन विद्युत नियमित नभएको उनले जानकारी दिए । जिल्लामा बिद्युत अनियमितता र लो भोल्टेजको मर्कामा उपभोक्ता नपरुन भन्ने उदेश्यले सोरहवा, भुरिगाउँ र राजापुर सबस्टेशन जस्ता महत्वाकांक्षी योजना सरकारले ल्यायो । भुरिगाउँ सबस्टेसन मार्फत पर्यटकिय गन्तव्य ठाकुरद्धारा र सोरहवा सबस्टेसनबाट जिल्लाको पूर्बी सेक्टरमा माग अनुसार बिद्युत आपुर्ति गर्ने लक्ष्य पूरा हुन सकेको छैन । प्राईभेट कम्पनीसँगको मिलेमतोमा बिद्युत आपुर्ती गरिदिदा आम सर्वसाधारण मर्कामा परेको प्राधिकरणमाथी आरोप छ ।