बर्दिया, बैशाख ७ (फरकसमाचार)
अपराध गरी लामो समय देखि फरार रहेकाको खोजीमा प्रहरीले चासो दिएको छ । विभिन्न कसुरमा फरार रहेकालाई प्रहरीले एकै दिन तीन जनालाई नियन्त्रणमा लिएको छ । पछिल्लो समय प्रहरीले फरार रहेका व्यक्तिहरुको खोजी कार्य तिव्र पारेको छ । अपराध गरी लामो समय देखि फरार रहेका व्यक्तिहरुलाई प्रहरीले धमाधम कानुनको दायरामा ल्याएको छ । अपराध गरी लुकिछिपी बसेका वा छिमेकी देशमा आश्रय लिएकालाई कुनै पनि हालतमा कानुनको घेरामा ल्याउने प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । अपराध गरी छिमेकी देश भारतको रुपैडियामा आश्रय लिएका कृपाराम खटिकलाई १८ वर्षपछि प्रहरीले अघिल्लो साता पक्राउ गरेको हो । यसले कुनैपनि अपराधी प्रहरीको हातबाट उम्कन नपाउने कुराको स्पष्ट गरेको छ ।
केही सार्वजनिक अपराध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–१ चेपाङ बस्ने ४३ वर्षिय पदम बहादुर समाल पक्राउ परेका हुन् । ०७२ साल चैत ९ गते जिल्ला अदालतले रु ५ हजार जरिवाना तोकेको थियो । जरिवाना तोकेको दिन देखि समाल फरार रहेका थिए ।
वन्यजन्तु चोरी निकासी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–१ चेपाङ बस्ने ४२ वर्षिय पल बहादुर पक्राउ परेका हुन् । ०७३ साल असार १६ गते जिल्ला अदालतले सुनारलाई ५ हजार जरिवाना तोकेको थियो । अदालतले जरिवाना तोकेको दिन देखि सुनार फरार रहेका थिए ।
त्यसैगरी अर्की बहुविवाह कसुरकी प्रतिवादी पक्राउ परेकी छन् । बढैयाताल गाउँपालिका–६ मैनापोखर बस्ने रिना थारुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालतले ०७२ साल चैत १८ गते रु २ हजार ५ सय जरिवाना तोकेको थियो । जरिवाना तोकेको दिन देखि थारु फरार रहेकी थिईन् ।
फरार रहेका तीनै जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । तीनै जनालाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।