राम प्रसाद चौहान
बर्दिया, साउन १७
जिल्लामा कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गलाई लगाईएको छ । ५० देखि ५४ वर्ष उमेर समुह, अपांगता, खोप अनिवार्य गरेको देशमा जाने नागरिक, खोप लगाउन छुटेका कर्मचारी र सरसफाईकर्मीलाई खोप शुक्रबार र शनिबार लगाईएको हो ।
सुरुमा खोप लगाउँदा केही ‘साइट इफेक्ट’ हुन्छ की भनेर, खोप नलगाएको नाम परिवर्तित निशा खातुनले बताईन् । नेपालमा अहिले खोप लगाएका व्यक्तिहरुमा कुनै गम्भीर समस्या देखिएको छैन ।
पहिलो दोस्रो चरण गरेर फ्रन्ट लाईनमा खटिएका कर्मचारीलाई खोप लगाएर केही पनि साइट इफेक्ट नदेखिएपछि मैले खोप लगाएको खातुनले बताईन् ।
सुरुमा मधेसी समुदायका व्यक्तिहरु खोप लगाउन हिचकिचाए पनि अहिले ढुक्क भएर खोप लगाएको गुलरिया नगरपालिका–६ का वडा अध्यक्ष निरज कुमार शर्माले बताए । ‘फन्ट लाईनर, महिला स्वास्थ्य स्वयम सेविका, मधेशी समुदायले ढुक्क भएर खोप लगाएको उनले भनिन् ।
सुरुमा ६२ देखि ६४ वर्षको लागि आएको खोप लगाउन सर्वसाधारण डराईरहेका थिए । खोप लगाएर केही साईट इफेक्ट नहुने विश्वास भएपछि अहिले निडर भएर मुस्लिम समुदायले खोप लगाएको अध्यक्ष शर्माले बताए । मुस्लिम समुदायका लक्षित वर्गका महिला पुरुष गरी ७० प्रतिशतले खोप लगाएको अध्यक्ष शर्माले बताए ।
गुलरिया नगरपालिका–६ को जिल्ला अस्पताल बर्दिया र मदरसा गरी दुई ठाउँमा खोप केन्द्र संचालन भएको थियो ।
अस्पतालमा शुक्रबार ५५ जना र शनिबार ९५ जना गरी १ सय ५० जनाले खोप लगाएको र मदरसामा शनिबार १ सय ७१ जनाले खोप लगाएको अध्यक्ष शर्माले बताए । यस भन्दा अगाडी खोप लगाउने कार्यक्रममा मुस्लिम समुदायको न्युन सहभागिता रहेको थियो । तर अहिले खोप लगाउन मुस्लिम समुदायको पहिलो पटक सबै भन्दा बढी संख्या सहभागिता जनाएको खोप केन्द्रमा खटिएका खैरापुर स्वास्थ्य चौकीका प्रमुख जनक योगीले बताए ।