टिप्पर दुर्घटना प्रकरणको सहमति, तीन दिनपछि अबरुद्ध सडक खुल्यो
बिहिबार, माघ २०, २०७८ मा प्रकाशित

बर्दिया,माघ २० (फरकसमाचार) / टिप्पर दुर्घटना प्रकरणमा तीन दिन देखि अबरुद्ध नेपालगंज गुलरिया सडक खण्ड बिहीबार साँझबाट खुलेको छ । पिडित परिवार र टिप्परका साहुबिच सहमति भएपछि अबरुद्ध सडक खुलेको हो ।

पिडित परिवारले क्षतिपुर्तिको माग गर्दै तीन दिन देखि सडक अबरुद्ध गरेका थिए । पिडित परिवारले मृतकका शवसमेत बुझेका थिएनन् । पिडित पक्ष र टिप्परका साहुबिच तीन दिनको प्रयासपछि सम्झौता भई सडक खुलेको छ ।

दुवै मृतक परिवारलाई १०/१० लाख क्षतिपुर्ति दिने र घाईतेको उपचार गर्नेमा सहमतिको टुङ्गो लागेको छ । साहुले मृतक परिवारलाई तत्काल ५०/५० हजार क्रियाखर्च उपलब्ध गराउने सहमति भएको छ । टिप्पर साहु र पिडित परिवारका बिच बिहीबार साँझ सहमति जुट्दा मृतक परिवारले शव बुझ्ने भएका छन् ।

गत सोमबार साँझ ८ बजेको समयमा टिप्पर अनियन्त्रित भई आँगनमा आगो ताप्दै बसेको मानिसहरुलाई कुल्चेको थियो । टिप्परले कुल्चिदा दुई जनाको मृत्यु भएको हो । अन्य तीन जना घाईते भएका छन् । बढैयाताल–३ सतपतियाका दुई जनाको ज्यान गएको थियो । टिप्परले कुल्चिदा ४५ वर्षिय सोमबहादुर बिकको घटनास्थलमै र ४५ वर्षिय रामु थारुको नेपालगंज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

३५ वर्षिय प्रमिला चौधरी, ४० वर्षिय चमेलिया थारु र टिप्परका सहचालक १९ वर्षिय लक्ष्मण सुनार घाईते छन् । घाईते तीनै जनाको नेपालगंज मेडिकल कलेजमा उपचार भईरहेको छ । टिप्परका चालक सुर्खेत बिरेन्द्रनगर नगरपालिका–११ का ३३ वर्षिय दुर्गा बिक प्रहरीको नियन्त्रणमा छन् । चालकले मदिरा सेवन गरी चालउँदा दुर्घटना भएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर