आफूले विकल्प खोजेको अवस्थामा साथ दिन समेत उनले नेताहरुलाई आग्रह गरे । उनले अघि भने, ‘म दबाब दिन्नँ, आफ्नो अन्तरआत्मालाई सुन्नुस् ।’
यद्यपि आफूले उठाएका विषयहरु संवोधन भए राप्रपामै बस्न तयार रहेको समेत उनले बताएका छन् । भेलामा सहभागी राप्रपा पदाधिकारीहरुले भने अध्यक्ष राजेन्द्र लिङ्देनलाई दबाब दिने भन्दै हतारमा निर्णय नगर्न आग्रह गरेका छन् ।
थापासँगको भेटपछि सञ्चारकर्मीहरुसँगको कुरा गर्दै राप्रपाका उपाध्यक्ष ध्रुबबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दावी गरे । उपाध्यक्ष प्रधानले थापा पार्टी एकताकै पक्षमा रहेको बताए ।
पार्टीकी महामन्त्री कुन्ती शाहीले पनि पार्टी विभाजनको पक्षमा पूर्वअध्यक्ष थापा नरहेको दावी गरिन् । उनले पार्टी नेतृत्वले विगतमा पार्टीमा दुःख गरेका कुनै पनि नेता, कार्यकर्तालाई पार्टी भित्र समेटेर लैजानुपर्ने बताइन् ।
थापा निकटवर्तीहरुका अनुसार उनले नयाँ पार्टी खोल्ने तयारी गरिसकेका छन् । कोरोनाको तेस्रो लहरका समयमा उनले विधान, राजनीतिक प्रस्ताव लगायतका काम गरेका छन् । सोमबार नै गृहजिल्ला मकवानपुर हिँडेका उनले जिल्लाका नेता कार्यकर्तासँग सम्वाद गर्ने छन् । त्यसपछि निर्णय लिने बताइएको छ ।साभार अनलाइनखबर