बढि क्षतिपुर्तिको माग गर्दै ढुङ्गामुुढा तथा तालाबन्दि
मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित

बर्दिया,माघ २५ (फरकसमाचार)/ अटो दुर्घटनामा परी ज्यान गुमाएकी मृतकका परिवारले सोमबार क्षतिपुर्तिको माग गर्दै बारबर्दिया नगरपालिकामा तालाबन्दि तथा ढुङ्गामुढा गरेका छन् ।

आइतबार साँझ करिब ७ बजे अटोरिक्साले जयनगर बजार स्थित घर अगाडी ठक्कर दिदाँ मुना भट्टराई गम्भिर घाईते भएकी थिईन् । उनलाई कोहलपुर मेडिकल कलेजमा उपचारको लागि पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । आक्रोसित मृतकका परिवार तथा स्थानीयले उचित क्षतिपुर्तिको माग राखि सोमबार नगरपालिकामा ढुङगामुढा गरेका छन् । मृतक भट्टराई सदाशिव बचत तथा क्रण सहकारी संस्थामा कार्यरत थिईन् ।

भट्टराई घर नजिकै बाटोको छेउमा आगो ताप्न जाँदा भे १ ह ४६३१ नम्बरको अटो रिक्साले ठक्कर दिएको थियो । रिक्सा चालक बारबर्दिया नगरपालिका–११ का ३४ बर्षिय राम प्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी जयनगरमा सोमबार बिहान दुई पक्ष बिच रु ११ लाख क्षतिपुर्ति मृतक परिवारलाई दिने सहमति भएको थियो । प्रहरी चौकी जयनगरले सहमति भएको कानुनी कागज बनाउन नमिल्ने बताएपछि दुवै पक्ष बारबर्दिया नगरपालिकामा भएको न्यायीक समितिमा गएका थिए ।

न्यायीक समितिमा जाँदा उप–प्रमुख अन्जु दहितले १ लाख पनि दिन नसक्ने अटो चालकले ११ लाख कसरी तिर्ने भनेपछि आक्रोशित मृतकका परिवार र स्थानीयले बारबर्दिया नगरपालिकामा ढुङ्गामुढा तथा तालाबन्दी गरेको मृतकका भिनाजु गोपिकृष्ण बस्यालले बताए । बारबर्दिया नगरपालिकाको न्यायक समितिको संयोजक तथा उप–प्रमुख दहितलाई फरक समाचारले सम्पर्क गर्दा मोबाईल फोन उठेन ।

प्रतिक्रिया

सम्बन्धित खवर