मानविय सेवा गर्दै विकास प्रेमी युवा समूह
बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित

बर्दिया, चैत ३ (फरकसमाचार) / मानविय सेवा तथा विकासको काममा विकास प्रेमी युवा समूह सक्रिय बन्दै गएको छ । विकास प्रेमी युवा समूहले विगतमा मधुवन नगरपालिकाकी एक असक्त वृद्धाको घर निर्माण, कुसुम्भाघाट शव दहन स्थान सरसफाई र गुलरिया नगर सरसफाई जस्ता उदाहरणीय काम सम्पन्न गरी आफ्नो पहिचान स्थापित गरेको छ ।

निस्वार्थ रुपले मानविय सेवा र विकासका कर्ममा विकास प्रेमी युवा समूहले निरन्तर लागिरहेको छ । त्यही कर्मलाई निरन्तरता दिदै बुधबार बृहत रक्तदान कार्यक्रम गरेको छ । विकास प्रेमी युवा समूह गुलरिया नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रम आवश्यक आर्थिक सहयोग उपलब्ध गराई गुलरियाका दुई व्यवसायी सरिक भए । जेआर कम्प्युटर इन्फोसिसका संचालक बिनोद गुप्ता र आरके डिष्ट्रिव्युटर्सका संचालक सुजित श्रीवास्तवले आर्थिक सहयोग गरी युवाहरुको अभियानमा सरिक बनेका हुन । समुहले नेपाल रेडक्रस सोसाइटीको समन्वयमा बृहत रक्तदान कार्यक्रम बर्दिया अस्पतालमा सम्पन्न गरेको छ । ३० जना स्वस्थ्य युवाले रक्तदान गरेका छन् । युवाहरुले गरेको रक्तदानले कयौं व्यक्तिहरुको ज्यान बच्ने विश्वास गरिएको छ ।

बृहत रक्तदान कार्यक्रमको आयोजना गरी विकास प्रेमी युवा समूहले धेरै राम्रो काम गरेको समाजसेवी बिरु चौधरीले बताए । ‘विकास प्रेमी युवाहरुले गरेको काम प्रसंसायिन छ’ उनले भने, ‘विकास प्रेमी युवाहरुको मनोबल बढाएर विकासका कार्यमा युवाहरुको आकर्षण बढाउनु पर्छ ।’ देश विकासको कार्य युवाहरुको काँधमा रहेको उनको भनाई थियो । युवाहरुले नै समाज परिर्वतन गरी विकासका काम गर्न सक्ने उनले सुझाएका थिए । युवाहरुले गरेको यस मानविय काममा उनीहरुलाई प्रोत्साहन गर्न स्वास्थ्यकर्मी र संचारकर्मीले सहयोग गर्न चौधरीले पटक पटक दोहो¥याएका थिए ।

विकास प्रेमी युवा समुहका केन्द्रिय अध्यक्ष गोपाल निरौला, समाजसेवी बिरु चौधरीले विकास प्रेमी समुहको केन्द्रिय कोषाध्यक्ष किरण खत्री र मधुवन नगरका अध्यक्ष रामबाबु सुवेदीलाई ब्लड ब्याग दिएर रक्तदान कार्यक्रमको सुरुवात गरिएको थियो ।

गुलरियाका विकास प्रेमी तथा क्रिकेट खेलाडी स्व.अजय श्रेष्ठको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । अघिल्लो महिना वैदेशिक रोजगारका क्रममा सडक दुर्घटनामा गुलरियाका विकास प्रेमी तथा खेलाडी श्रेष्ठको माल्टामा ज्यान गएको थियो । श्रेष्ठको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरेको विकास प्रेमी युवा समूह गुलरिया नगर समितिका अध्यक्ष महेमुद सिद्दीकीले बताए ।

‘रक्तको अभाव नहोस्, रक्तको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस्’ उनले भने,‘ रक्तको अभाव खड्किन नदिन विकास प्रेमी युवा समूहले अभियान चलाएको छ ।’ रक्तदान गर्न आउने ५० जनाको लागि फलफुलको व्यवस्था गरेका थियौं । जसमा ३० जना मात्र रक्तदान गरे । बचेको फलफुल बर्दिया अस्पतालमा उपचाररत रहेका २० जना बिरामीहरुलाई वितरण गरेको नगर अध्यक्ष सिद्दीकीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर