बर्दिया, चैत ५ (फरकसमाचार)/ प्रहरीले लागुऔषधका तीन कारोबारीलाई नियन्त्रणमा लिएको छ । बढैयाताल गाउँपालिका–८ कण्ठपुर स्थित नेपाल भारत सिमानाकाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।
लागुऔषधको कारोबार गरिरहेको अवस्थामा प्रहरीले तीनै जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला एक पुरुष गरी दुई जना भारतका र एक जना पुरुष नेपालका रहेका छन् । भारत जिल्ला बहाराईच थाना मोतिपुर ग्राम बरथनवा गाउँ शिवरात्रीपुरकी २५ वर्षिय सबिना साई, २६ वर्षिय सद्दाम साई र काठमाण्डौ महानगरपालिका–७ का ४७ वर्षिय सुमन केसी पक्राउ परेका छन् । पक्राउ परेका तीनै जना लागुऔषधका कारोबारी रहेको प्रहरीको प्राराम्भिक अनुसन्धानबाट खुलेको छ ।
काठमाण्डौंबाट लागुऔषध लिन आएका लागुऔषध कारोबारी केसीको योजना फेल भएको छ । पक्राउ परेका दुवै साईले भारतबाट नेपालमा लागुऔषध ल्याएर केसीलाई बिक्री गर्ने र केसीले काठमाडौं लगेर लागुऔषध बिक्री गर्ने योजनालाई प्रहरीले फेल गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक धर्मराज जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरेको हो ।
प्रहरीले तीनै जनाको खानतलासी गर्दा लागुऔषध ब्राउनसुगर ६८ ग्राम १ सय ३० मिलिग्राम फेला परेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट १० दिनको म्यादथप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।