ईट्टाभट्टामा बालअधिकार समितिको अनुगमन
शनिबार, चैत १२, २०७८ मा प्रकाशित

ज्ञानेन्द्र पोख्रेल
बर्दिया(बढैयाताल) चैत १२ / बढैयाताल गाउँपालिकामा रहेको बालअधिकार समितिले ईट्टाभट्टामा शुक्रबार अनुगमन गरेको छ । बढैयातालमा रहेका पाँच वटा ईट्टाभट्टाको काममा बालबालिका प्रयोग भए नभएको अनुगमन गरिएको हो । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपा कुमारी गौतमको नेतृत्वमा ईट्टाभट्टाहरुको अनुगमन गरिएको छ ।

थारु महिला उत्थान केन्द्र द्वारा संचालि सक्रिय परियोजनाको समन्वय र विश्वशिक्षा कार्यक्रमको सहयोगमा बढैयाताल गाउँपालिका– २, ५ र ८ मा रहेका पाण्डे इट्टा उद्योग, यादव ईट्टा उद्योग, विआर बाई ईट्टा उद्योग, एमआरजे र सान ईट्टा उद्योगको अनुगमन गरिएको छ । अनुगमनका क्रममा प्रत्यक्ष काममा नलगाएको अवस्थामा ईट्टाभट्टामा बालबालिका भेटिएका छन् ।

जस मध्ये अधिकांश भारतीय बालबालिका रहेका छन् । ईट्टाभट्टामा भारतीय नागरिकले आफ्नो परिवारसहित काम गर्न आउने क्रममा बालबालिका पनि लिएर आउने गर्छन् । ती अभिभावकहरुको आर्थिक स्थिती कमजोर र विद्यालयसम्म पठाउने पहुँच नभएको कारण आफुसंगै बालबालिकालाई ल्याउन बाध्य हुन्छन् । शिक्षाबाट बञ्चित रहेका ती भारतीय बालबालिकालाई ईट्टाभट्टाका संचालकसंग समन्वय गरी दिनको दुई घण्टा पढाउने वातावरण मिलाउने छलफल गरिएको छ । बालअधिकार समितिको पहलमा यो कार्य छिट्टै सुरु हुने जनाईएको छ ।

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपा कुमारी गौतमको नेतृत्वमा बाल अधिकार समितिका सदस्यहरु गाउँपालिका सदस्य जित बहादुर सुनार, इलाका प्रहरी मैनापोखरका प्रनानि वेद भण्डारी, नागरिक समाजका नेत्र सापकोटा, थारु महिला उत्थान केन्द्रकी निर्देशक प्रिज्मा सिंह थारु, कोषाध्यक्ष पुन्यकला चौधरी, कार्यक्रम व्यवस्थापक तेजमणि पन्त र कार्यक्रम संयोजक किशोर थारुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर