बर्दिया, चैत १६ (फरकसमाचार)/ म्यादी प्रहरीको प्रारम्भिक छनौट प्रक्रिया मंगलबार देखि सुरु भएको छ । मंगलबार देखि सुरु भएको प्रारम्भिक छनौट प्रक्रिया शुक्रबारसम्म चल्नेछ ।
प्रारम्भिक छनौट परीक्षामा उत्तिर्ण भएका उम्मेदवारलाई शनिबार गुलरिया नगरपालिका–४ स्थित खेलकुद मैदानमा लिखित परीक्षामा सहभागि गराउने योजना जिल्ला प्रहरी कार्यालयको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले दुई सिफ्टमा विभाजन गरि प्रारम्भिक छनौट प्रक्रिया अघि बढाएको छ । पहिलो सिफ्ट बिहान ६ बजेर ३० मिनेटबाट ११ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि ५ बजेसम्म छनौट प्रक्रिया संचालन भईरहेको छ ।
प्रारम्भिक छनौट प्रक्रिया चुस्त दुरुस्त रुपमा मंगलबार देखि सुरु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए । ‘सुरुमा बेरिङ्ग चेक र स्वास्थ्य परीक्षण हुन्छ’ प्रहरी नायव उपरीक्षक शाहीले भने, ‘तौल, हाईट र ब्लड प्रेसर नापिन्छ ।’ यसमा उत्तिर्ण भएका उम्मेदवारलाई दौड, सेटअप र पुसअपमा सहभागि गराईन्छ । प्रारम्भिक छनौट परीक्षामा पास भएका उम्मेदवारलाई शनिबार बिहान ७ बजे लिखित परीक्षामा सहभागी गराउने प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए ।
म्यादी प्रहरीको लागि आवेदन दर्ता गराएका उम्मेदवारले उत्साह पुर्वक प्रारम्भिक छनौटमा सहभागिता जनाईरहेका छन् । ४० दिनको कार्य अवधिका लागि १ हजार ५ सय ३९ म्यादी प्रहरीको भर्ना खोलिएको हो । जसमा ७ हजार २३ जनाले आवेदन दर्ता गराएका छन् ।