अस्पतालको सामाजिक सेवा इकाइ दोस्रो चौमासिक समिक्षामा सफल
बिहिबार, चैत १७, २०७८ मा प्रकाशित

बर्दिया, चैत १६ (फरकसमाचार) / बर्दिया अस्पताल अन्र्तगत संचालनमा रहेको सामाजिक सेवा इकाइ दोस्रो चौमासिक समिक्षामा सन्तोष जनक काम गरेको पाईएको छ । बुधबार सामाजिक सेवा इकाइले दोस्रो चौमासिक समिक्षामा प्रस्तुत गरेको प्रगति विवरणले सन्तोष जनक काम भएको पुष्टि गरेको हो ।

सरकारले निःशुल्क राष्ट्रिय स्वास्थ्य सेवा कार्यक्रम लागु गरि स्वास्थ्य संस्थाहरुमा सामाजिक सेवा एकाइको स्थापना गरेको हो । बर्दिया अस्पतालमा आव ०७४/०७५ देखि सामाजिक सेवा इकाई स्थापना भई संचालन भईरहेको छ । यस सेवा मार्फत धेरै बिरामी खुसी भएका छन् । यो जिल्ला वासीको लागि सुखद रहेको छ ।

सेवा इकाइको दोस्रो चौमासिक समिक्षाको प्रगति विवरण सन्तोष जनक रहेको बर्दिया अस्पतालका मेसु डा.सुभाष पाण्डेले बताए । ‘गरिब, असहाय, आर्थिक स्थिती कमजोर भएका नागरिकले अस्पतालमा रहेको सामाजिक सेवा इकाइबाट सेवा पाएका छन्’ मेसु पाण्डेले भने, ‘सामाजिक सेवा इकाइले आर्थिक स्थिती कमजोर भएका बिरामीको उपचारमा धेरै सहयोग पु¥याएको छ ।’

लक्षित समुहका व्यक्ति र आर्थिक स्थिती कमजोर भएका बिरामीलाई उपचारबाट बञ्चित हुन नदिन सामाजिक सेवा इकाइले महत्वपुर्ण भुमिका खेलेको अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतमले बताए । आगामी दिनमा वास्तविक असहाय गरिब दुखीलाई सेवा इकाइ मार्फत प्रभावकारी सेवा दिन आग्रहसमेत उनले गरेका थिए ।

बर्दिया अस्पतालमा रहेको सामाजिक सेवा ईकाईले गरिब, असहाय, अपांङ, जेष्ठ नागरिक, लैङ्गिक हिंसा प्रभावित बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपबाट प्रभावित, शहिद परिवार, कुपोषित बालबालिका, दुर्घटनामा परेका आकस्किम बिरामी अभिभावक नभएका, प्रहरीबाट ल्याएका थुनुवा र सिमान्कृत तथा लोपोन्मुख आदिवासी जनजातिलाई विषेश प्राथमिकता दिई सेवा प्रदान गरिरहेको छ ।
आव ०७८/०७९ को दोस्रो चौमासिकमा २ सय ८२ जना लक्षित समुहका बिरामीले रु ३ लाख ६८ हजार ९ सय २६ बराबरको सेवा लिईसकेको सामाजिक सेवा इकाइको रेकर्डले पुष्टि गर्छ ।

पहिलो चौमासिकमा रु २ लाख ५५ हजार ६ सय ७७ बराबरको सेवा दिएको पाईएको छ । तेस्रो चौमासिकको लागि रु १ लाख ७१ हजार २४ बाँकी रहेको छ । यी लक्षित समुहका व्यक्तिहरुलाई सामाजिक सेवा इकाइले मंसिरमा ४५ पुरुष र ३३ महिला गरी ७८ जनालाई सेवा दिएको छ । पुसमा ३७ पुरुष र ४५ महिला गरी ८२ जनालाई सेवा उपलब्ध गराएको हो । माघमा ३२ पुरुष र ३५ महिला गरी ६७ जनालाई विभिन्न सेवा दिएको छ भने फागुनमा ५५ जनालाई औषधी, परीक्षण, अप्रेशन र एम्बुलेन्स सेवा दिएको इकाइको दोस्रो चौमासिक समिक्षामा सार्वजनिक गरिएको छ ।

त्यस्तै गरी सेवा इकाइले चार महिनाको अवधिमा ७६ जना दम रोगीलाई रु २४ लाख ३ हजार ५ सय ९५ बराबरको सेवा उपलब्ध गराएको छ । आकास्मिक रेफरल सेवामा एक वर्षको लागि ३ लाख बजेट प्राप्त भएको थियो । जसमा पहिलो चौमासिकमा रु १ लाख २३ हजार ७ सय खर्च भएको र दोस्रो चौमासिममा ४२ जना बिरामीलाई रु १ लाख ३ हजार बराबरको सेवा दिएको छ भने रु ७३ हजार ३ सय बाँकी रहेको सामाजिक इकाईका सहजकर्ता हेमन्त कुमार चौधरीले जानकारी दिए ।

गर्भवती महिलालाई निःशुल्क दिने सेवामा रु ५ लाख बजेट प्राप्त भएको थियो । जसमा दोस्रो चौमासिकसम्म ८ सय ५८ जना महिलाले रु ३ लाख ४३ हजार २ सय वापत सेवा लिईसकेका छन् । १ लाख ५६ हजार ८ सय बाँकी रहेको छ । यस आर्थिक वर्षको अन्तिमसम्म ३ सय ९२ जनालाई सेवा उपलब्ध गराउन सकिने जनाईएको छ ।

सिकलसेल एनिमियाका बिरामीले दोस्रो चौमासिकमा १५ जनाले रु २६ हजार १ सय २७ बराबरको सेवा लिएको बर्दिया अस्पताल सामाजिक सेवा इकाइको रेकर्डले पुष्टि गर्छ । जेरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रमको दोस्रो चौमासिकमा ६ सय २२ जना बिरामीले रु ८ लाख ५४ हजार ४ सय ९२ बराबरको सेवा लिएको रेकर्डमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर