ज्ञानेन्द्र पोख्रेल
बर्दिया, चैत २१ / बढैयाताल गाउँपालिकामा आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ । बढैयाताल गाउँपालिकाको आयोजना तथा नेत्र ज्योति संघ बर्दिया र च्यारेटि हेल्थ फाउन्डेसनको समन्वयमा सोमबार मैनापोखरमा अाँखा उपचार केन्द्रको उद्घाटन गरिएको हो । बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले आँखा उपचार केन्द्रको उद्घाटन गरेका थिए ।
यस अघि बढैयातालमा आँखा उपचार केन्द्र नहुँदा स्थानीय गुलरिया र नेपालगंज आँखा उपचार गराउन जानुपर्ने बाध्यता रहेको थियो । बढैयातालमा आँखा उपचार केन्द्रको संचालनले यहाँका करिब ५२ हजार नागरिकले आफ्नै ठाउँमा प्रत्यक्ष लाभ लिन सक्नेछन् । आफ्नै ठाउँमा आँखा उपचारको उद्घाटन भई संचालनमा आउँदा स्थानीय खुसी भएका छन् ।
आँखा उपचारको लागि टाढा दौडधुप गर्नुपर्ने बाध्यता हराएको छ । आँखा उपचार केन्द्रको उद्घाटन कार्यक्रम नेत्र ज्योति संघ बर्दियाका अध्यक्ष गोपाल प्रशाद पौडेलको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, उपाध्यक्ष दिपा कुमारी गौतम, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, नेत्र ज्योति संघ केन्द्रिय अध्यक्ष हुकुम पोख्रेल, च्यारेटि हेल्थ फाउन्डेसनका डाइरेक्टर बिघा प्रसाद पन्त, लक्ष्मी कान्त ढकाल, जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, स्थानीयहरुको उपस्थिति रहेको थियो ।