काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल आईजीपीको ४ वर्षे पदावधि पुरा गरेर अवकाशमा जाँदै छन् । उनी २०७८ चैत २८ मा अवकाशमा जान लागेका हुन् । शैलेन्द्र खनालको अवकाशपछि उनकै ब्याचका दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल आइजीपीका प्रतिस्पर्धी हुन् । नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएका उनीहरुमध्ये एकजनाले २० दिन सशस्त्र प्रहरीको कमाण्ड समाल्ने अवसर पाउने छन् ।छोटो समय आईजीपी बन्ने प्रतिस्पर्धामा रहेका पुष्पराम केसी मेरिट लिस्टको एक नम्बरमा छन् । पौडेल मेरिट लिस्टको दुई नम्बरमा छन् । अर्धसैन्य संगठन सशस्त्र प्रहरीमा बरियता नमिच्ने परम्परा छ । सो परम्पराका कारण सरकारले केसीलाई आईजीपी नियुक्त गर्ने जानकारहरु बताउँछन् ।
पुष्पराम केसी अहिले कार्य तथा सिमा सुरक्षा विभागको प्रमुख छन् । रामशरण पौडेल मानवस्रोत विभाग प्रमुख छन् । सेवा परिवर्तन गरेर सशस्त्र प्रहरीमा आएका उनीहरु दुवैजना २०७९ वैशाख १८ मा अवकाशमा जाँदैछन् ।
२० दिनका लागी आईजीपी नियुक्त गरेसँगै रिक्त हुने एकजना एआईजीको सिटमा बढुवा हुन ३ जना प्रतिस्पर्धामा छन् । एआईजी बढुवा प्रतिस्पर्धाका एक नम्बरमा डीआईजी राजु अर्याल छन् । मेरिट लिस्टको दुई नम्बरमा नारायणदत्त पौडेल र तेस्रो नम्बरमा चन्द्र प्रकाश गौतम छन् ।
अर्याल र पौडेल २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । गौतम चाहिँ २०५२ वैशाखमा सेनाको सह–सेनानीमा भर्ना भएर सशस्त्र प्रहरीमा आएका हुन् । मेरिट लिस्टको एक नम्बरमा रहेका अर्याललाई भावी महानिरीक्षकको रुपमा हेरिएको छ ।रातोपाटीबाट साभार