बर्दियामा भुमिहीन सुकुम्बासीको ठुलो समस्या : अध्यक्ष चौधरी
बर्दिया, चैत २३ (फरकसमाचार)/ नेपाल भुमिहीन सुकुम्बासी संगठनको प्रथम केन्द्रीय महाधिवेशन कार्यक्रमको उद्घाटन गर्न पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार गुलरिया आउदै छन् । संगठनको प्रथम केन्द्रीय महाधिवेशन कार्यक्रको उद्घाटन सत्रलाई नेकपा एमालेका अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।
बर्दिया जिल्लामा भुमिहीन सुकुम्बासी, मुक्त कमैया तथा अव्यवस्थित बसोबासको ठुलो समस्या भएको जिल्ला भएकोले यस जिल्लालाई प्राथमिकतामा राखी यसै ठाउँमा प्रथम केन्द्रीय महाधिवेशनको आयोजना गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल भुमिहीन सुकुम्बासी संगठनकी अध्यक्ष शान्ता चौधरीले जानकारी दिईन् ।
यसै जिल्लाबाट संगठनको सुरुवात भएको र यसै जिल्लामा भुमिहीन सुकुम्बासीहरुको ठुलो समस्या रहेकोले नेकपा एमालेका अध्यक्ष ओलीले पनि यसै जिल्लालाई प्राथमिकता दिएको उनले सुनाईन् । नेपाल भुमिहीन सुकुम्बासी संगठनको नेतृत्वमा देशमा आजसम्म हलिया, हरुवा, कमैया, कमलरीलगायत ६० हजार मानिसहरु जमिनको मालिक हुन पाएको केन्द्रिय अध्यक्ष चौधरीले जानकारी दिईन् ।
‘नेकपा एमाले जहिले सरकारमा जान्छ भुमिहीन सुकुम्बासीहरुको समस्या हल गर्न आयोग गठन गर्छ’ अध्यक्ष चौधरीले भनिन्,‘तर बिडम्बना त्यही बेला सरकार ढल्छ ।’ सरकार ढलेपछि संगठनले काम गर्न पाउँदैन । ‘नेकपा एमाले सरकारमा आउँदा सबै भन्दा पहिला भुमिहीनको समस्या समाधान गर्न आयोग बनाउँछ’ अध्यक्ष चौधरीले भनिन्,‘तर अरु पार्टी सरकारमा आउँदा गरिबलाई जग्गा दिन बनाईएको आयोगलाई सबै भन्दा पहिला बिघटन गर्छ ।’ एमालेको सरकार नढलेको भए अहिलेसम्म ५० प्रतिशत भुमिहीन सुकुम्बासीहरुको समस्या समाधान भईसक्ने उनले तर्क दिईन् । देशभरीबाट ५ सय बढी भुमिहीन प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउने अध्यक्ष चौधरीले विश्वास व्यक्त गरिन् ।
बर्दियामा ११ हजार भुमिहीन र ३० हजार अव्यवस्थित बसोबास रहेको संगठनले जनाएको छ । गुलरिया बसपार्क नजिक रहेको आँप बगैंचामा बिहीबार हुने संगठनको प्रथम महाधिवेशन कार्यक्रमको उद्घाटन सत्रमा एमालेका अध्यक्ष ओलीले आफ्नो सन्दर्भिक भनाईकासाथ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।