कोरियामा रहेका नेपालीको सुरक्षा सतर्कताका लागि काँग्रेसको अपिल
सोमबार, फागुन १२, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन १२ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीको ‘कोरोना भाइरस (कोबिड १९)’को संक्रमणबाट सुरक्षामा उच्च सर्तकताका लागि नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य नेपाली संघसंस्थालाई आपसी आवश्यक समन्वय गर्न अपिल गरेका छन् ।

उनले आज नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई एक पत्र पठाई सम्पूर्ण नेपालीको सुरक्षामा उच्च सर्तकताका साथ आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकताबद्ध ढंगले समन्वय गर्न अपिल गर्नुभएको हो । कोरोना भाइरस (कोबिड १९)को संक्रमणले अहिले विश्वका कयौँ मुलुक प्रभावित रहेका छन् ।

केही दिनयता दक्षिण कोरियासमेतमा कोरोना भाइरसबाट सयौँ संक्रमित भएका र केहिको मृत्युसमेत भइसकेको विवरण सञ्चारमाध्यममार्फत थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीको सुरक्षा संंवेदनशीलताप्रति आफ्नो चासो बढेको उनले उल्लेख गरे ।

‘नेपाल सरकार र नेपाली दूतावासमार्फत हुनसक्ने आवश्यक सजगता बारे हामी घच्घच्याइ रहेका छौँ, विशेष गरी संक्रमण फैलिएको थेगु शहरमा रहेका नेपालीलाई तत्कालै युद्धस्तरमा सतर्क गराउन तथा कोरियाको अन्य शहरमा पनि विभिन्न पेशा र व्यवसायमा संलग्न, अध्ययनरत विद्यार्थी एवम् श्रममा संलग्न सम्पूर्ण नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि अपिल गर्दछु’ सभापति देउवाले पत्रमा उल्लेख गरेका छन् ।

यस क्षणमा नेपाली जनसम्पर्क समितिको भूमिका अझ बढी प्रभावकारी रहनु पर्ने अपेक्षा राख्दै उनले कोरियामा रहेका दर्जनौँ नेपाली संघसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकतापूर्वक कार्य गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर