संयुक्त राष्ट्रसंघबाट फोर्स कमाण्डरमा उपरथी हमाल छनोट
मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन १३ : संयुक्त राष्ट्रसंघको आह्वानमा सिरिया र इजरायलको सीमा गोलानहाइट क्षेत्रमा तैनाथ शान्ति मिसन (अनडोफ)को फोर्स कमाण्डरको जिम्मेवारी नेपाललाई प्राप्त भएको छ ।

त्यहाँ तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति पर्यवेक्षण सैनिक कमाण्डर (युएन डिस्इंगेजमेन्ट अब्र्जभेशन फोर्स) कमाण्डरमा संयुक्त राष्ट्रसंघले नेपाली सेनाका उपरथी ईश्वर हमाललाई छनोट गरेको औपचारिक सूचना प्राप्त भएको प्रधानसेनापति पूर्णचन्द्र थापाले आज आयोजित एक कार्यक्रम जानकारी दिए ।

शान्ति सैनिक पठाउने मुलुकका सैनिक प्रतिनिधिबीचको प्रतिस्पर्धामा उपरथी हमाल फोर्स कमाण्डरमा चयन हुन सफल हुनुभएको हो । शान्ति सैनिकको फोर्स कमाण्डरको जिम्मेवारी पाउने उपरथी हमाल छैटौँ उच्च नेपाली सैनिक अधिकृत हुनुहुन्छ । फोर्स कमाण्डरको हैसियत संयुक्त राष्ट्रसंघको सहायक उपमहासचिवसरह मानिन्छ ।

इजरायल र सिरियाका सेनालाई युद्धमा जानबाट रोक्नु त्यहाँ परिचालिन शान्ति सैनिकको मुख्य जिम्मेवारी हो । गोलनहाइट क्षेत्रमा विभिन्न मुलुकका करिब दुई हजार संख्यामा शान्ति सैनिक परिचालित छन् । प्रतिस्पर्धीमध्येबाट छानिएका चारलाई संयुक्त राष्ट्रसंघ मुख्यालयले बेग्लाबेग्लै अन्तर्वार्तापछि हमालको नाम छनोट भएको थियो ।

फोर्स कमाण्डमा छनोट भएका उपरथी हमालको इजरायल र सिरियाबाट एग्रिमो आउन केही ढिलाइ भएका कारण संयुक्त राष्ट्रसंघले हिजो मात्र त्यससम्बन्धी जानकारी सार्वजनिक गरेको थियो । उपरथी हमाल हाल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका प्रमुख (कमाण्डेन्ट) हुनुहुन्छ ।

गोलानहाइटमा यसअघि पूर्वरथी बालानन्द शर्मा र हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले फोर्स कमाण्डरको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएको थियो । तत्कालीन नेपाली सेनाका उपरथीत्रय कृष्णनारायणसिंह प्रधान, भिक्टी« राणा र पवनजंग पाण्डेले पनि फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका थिए । फोर्स कमाण्डर शान्ति सैनिक पठाउने मुलुकलाई उपलब्ध गराइने सबैभन्दा माथिल्लो दर्जा हो ।

उपरथी हमालले एक वर्षका लागि फोर्स कमाण्डका लागि नियुक्ति पाउनुभएको छ । संयुक्त राष्ट्रसंघको नियमावलीअनुरुप अर्को वर्षका लागि उनले  पुनः नियुक्ति हुनुपर्नेछ । शान्ति सैनिक पठाउने सम्बन्धित मुलुकले निरन्तरता दिएमा, कमाण्डरले इच्छा राखेमा तथा संयुक्त राष्ट्रसंघले चाहना गरेमा तीन वर्षसम्म फोर्स कमाण्डरको जिम्मेवारीमा रहन सक्ने पूर्वरथी शर्माले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वरत मुलुकका ४३ शान्ति मिसनमा रही हालसम्म एक लाख २९ हजार ८९९ नेपाली सैनिकका सकल दर्जाले जिम्मेवारी सम्हाली सक्नुभएको छ । सन् १९५८ देखि हालसम्म विश्व शान्ति स्थापनार्थ सहभागी हुँदा नेपाली सेनाका ६५ ले वीरगति प्राप्त गरेका छ भने ६६ गम्भीर घाइते भए । हाल विश्वका १२ वटा शान्ति मिसनमा पाँच हजार ९६ नेपाली सैनिक परिचालित छन् । त्यसमध्ये महिलाको संख्या १८१ छ ।

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल हाल चौथो बरियतामा छ । ठूलो संख्यामा शान्ति सैनिक पठाउने कुनै पनि बेलामा हाम्रो फोर्स कमाण्डर खाली हुनुहुन्न । ‘फोर्स कमाण्डर प्राप्त हुनु हाम्रो लागि गौरवको विषय हो । संयुक्त राष्ट्रसंघले हाम्रो योगदानको कदर गर्नुप¥यो’, शर्माले भने, ‘नेपालले फोर्स कमाण्डर प्राप्त नगरेको केही वर्ष भइसकेको थियो । हाम्रै जति सैनिक खटाउने मुलुकलाई धेरै फोर्स कमाण्डर दिइएको छ । सरकारले यसका लागि सकारात्मक भूमिका खेल्नु प¥यो ।’ नेपालले संयुक्त राष्ट्रसंघलाई १० हजारको संख्यामा शान्ति सैनिक पठाउन सक्ने जानकारी गराउँदै योगदानअनुसारको भूमिका प्रदान गर्न पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर