बंगलादेश–नेपाल व्यापार विस्तारमा जोड
बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन १५ : भूगोलका हिसाबले नजिक भएर पनि नेपाल र बंगलादेशबीच अपेक्षाकृत व्यापार एवं आर्थिक सहयोग विस्तार हुन नसकेकामा अर्थतन्त्रका जानकारहरूले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले सरकारीस्तरमा नै द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल विश्व सम्बन्ध परिषद् र यहाँस्थित बंलादेशी राजदूतावासद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘बंगलादेश–नेपाल व्यापार तथा आर्थिक सहयोग’ विषयक कार्यशालामा उनीहरूले जनस्तर र व्यापारी–व्यापारीबाट मात्र व्यापार प्रवद्र्धन असम्भव भएको तर्क गर्दै सरकारीस्तरमा नै विशेष प्रयास हुनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्माले ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिरहेको बंगलादेशबाट नेपालले सिक्नुपर्ने बताउँदै उक्त देशले औद्योगिक विकासका लागि गरेका संरचनागत सुधारको नेपालले अनुसरण गर्नुपर्ने बताए । उनले बंगलादेशले नेपालमा ६ अर्ब ३० करोडभन्दा बढी लगानी गर्न चाहेका तर त्यसो हुन नसक्नुको कारण खोजिनुपर्छ भने । पूर्वराजदूत शर्माले सूचना प्रविधिका क्षेत्रमा नेपालले पनि उल्लेख्य प्रगति गरेकाले उक्त क्षेत्रमा द्विपक्षीय व्यापार अभिवृद्धि गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं पूर्वपर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न सकिने भएकाले सतह मार्गबाट पर्यटकलाई आवागमनको सहज सुविधा उपलब्ध गराउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिए । दैनिक दुईवटा विमानले दुईपटक उडान सेवा गरे पनि अपेक्षितरुपमा द्विपक्षीय पर्यटन प्रवद्र्धन हुन नसकेको उनले बताए ।

नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्ते शाम्सले बंगलादेश–नेपाल व्यापार विस्तारमा दुवै देशका कर्मचारीतन्त्र जिम्मेवार रहेका बताउँदै आपसी व्यापार बढोत्तरीका धेरै क्षेत्रमा दुई देशबीच सहकार्य गर्न सकिने प्रस्ट गरे ।

परिषद्का अध्यक्ष हेमन्त खरेलको सभापतित्वमा भएको उक्त कार्यशालामा सचिव भुवन पाठकले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले बंगलादेशी उद्यमी–व्यवसायीलाई यहाँ लगानी गर्न अभिप्रेरित गर्नुपर्छ भने ।

प्रतिक्रिया

सम्बन्धित खवर