बुटवल, फागुन १५ : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले सचेत र बौद्धिक तप्कामा नेपाल राज्यलाई आफ्नो ठान्ने चिन्तनको आवश्यकता रहेको बताउनुभएको छ । बुटवलबाट प्रकाशित ‘दैनिक लुम्बिनी’को ३२औँ वार्षिकोत्सव समारोलाई आज सम्बोधन गर्दै उनले सचेत बौद्धिक तप्काले जहिलेसम्म राज्यलाई आफ्नो ठान्दैन बलियो राज्य बनाउनसमेत नसकिने स्पष्ट पारे ।
उनले अधिकांश नेपाली सञ्चारमाध्यममा समाचारको स्तर बढ्न नसकेको बताए । उनले आम सञ्चारमाध्यम सूचना दिनुभन्दा पहिले नै निष्कर्ष पस्कन हतार हुने सूचना संकलनमा ढिलाइ वा बेवास्ता गर्ने नेपाली सञ्चार क्षेत्रमा समस्या रहेको समेत औँल्याए । उनले भने, ‘आमसञ्चारले दृष्टिकोण बनाउने होइन, जनतामा दृष्टिकोण बनाउन सूचना सामग्री दिएर निष्कर्ष निकाल्न दिने हुनुपर्छ ।’
मुख्यमन्त्री पोखरेलले नेपाली सञ्चारमाध्यमले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न नसकेको बताए । उनले भने, ‘तपाईंहरूले नराम्रोलाई नराम्रो नै भन्नुस् तर राम्रोलाई राम्रो भन्न सक्नुहुन्न भने चुप लाग्नुस् ।’ उनले बितेका सात महिनाको अवधिमा देशको आयात घटेको र निर्यात बढ्दो अवस्थामा देखिएको बताउँदै यो नेपाली अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत रहेको उल्लेख गरे ।
उनले राजश्वका हिसाबले समेत आयातमा आधारित राजश्व घट्दो अवस्था र आन्तरिक राजश्व वृद्धि बढ्दो देखिनुले अर्थतन्त्र सकारात्मक मान्नुपर्ने बताए । मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ मा सरकारले आयात प्रतिस्थापन गर्ने योजनासहित औद्योगिक विकासको सम्भावनाका ढोका खुलेको बताए । उनले प्रदेशका तीन स्थानमा एक/एक नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारीमा सरकार रहेको बताए ।
पर्यटनका माध्यमबाट आर्थिक समृद्धि प्रदेश सरकारको लक्ष्य रहे पनि यहाँ आउने पर्यटकबाट अर्थतन्त्रको भूमिकामा कमजोर रहेको सरकारको विश्लेषण रहेकाले पर्यटनको विकासमा प्रदेश सरकार सक्रिय रहेको बताए । पर्यटकलाई भुलाउने र रमाउने वातावरणका लागि पर्यटन पूर्वाधारको आवश्यकता औँल्याउँदै मुख्यमन्त्री पोखरेलले पहिले हामी हाम्रो देश घुम्यौँ भने मात्रै बाह्य पर्यटक आउने बताए ।
उनले लुम्बिनी क्षेत्र बाहिरको विकासमा प्रदेश सरकारले चासो दिएर गुरुयोजना बारेमा छलफल गर्न खोज्दा केही राजनीतिक नेतृत्वमा बसेकाले सर्वसाधारणलाई भड्काउने गरेकाले त्यस्ता स्वार्थी तत्वविरुद्ध बहस चलाउन आवश्यक रहेको बताए । दैनिक लुम्बिनीका अध्यक्ष मोहन चापागाईंको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले मुलुकले लिएको समृद्धिको यात्रामा सञ्चार जगत्को महत्वपूर्ण सहकार्य आवश्यक हुने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य रमा अर्याल, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरी चौधरी, पत्रकार डिआर घिमिरे र अर्जुन ज्ञवाली, नेपाल पत्रकार महासंघ प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीलगायतले आआफ्ना भनाइ राखेका थिए । कार्यक्रमका अवसरमा दैनिक लुम्बिनीका पूर्वसम्पादक, व्यावसायिक संस्थालगायतलाई सम्मान गरिएको थियो ।