बर्दिया,मंसिर ६ (फरकसमाचार)/ ठाकुरबाबा नगरपालिका वडा नं.४ को वडा अध्यक्षको लागि उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ । गत आइतबार उम्मेदवारी दर्ता गराएका ६ जना उम्मेदवारलाई बुधबार निर्वाचन चिन्ह प्रदान गरिएको हो ।
वडाध्यक्ष पदको निर्वाचनमा उम्मेदवार कायम भएका उम्मेदवारलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को उपदफा ६ र ७ बमोजिम निर्वाचन चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंले बताए ।
यही मंसिर १६ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनका लागि ६ राजनीतिक पार्टी निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेपाली काँग्रेस पार्टीबाट वडाध्यक्ष पदको लागि उम्मेदवारी दिएका अमिन थारुको निर्वाचन चिन्ह रुख रहने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरि नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुको पिधँ भएको सादा ढकिया, राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्माको घण्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर शाहीको हलो, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)का विष्णु प्रसाद देवकोटाको सूर्य र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का सेर बहादुर थारुको गोलाकारभित्र हँसिया हथौडा निर्वाचन चिन्ह कायम गरिएको ठाकुरबाबा नगरपालिका–४ मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उक्त वडामा ३ हजार ५ सय १० मतदाता रहेका छन् । जसमध्ये महिला १ हजार ८ सय ३९ र पुरुष १ हजार ६ सय ७१ जना रहेका छन् । २ मतदान केन्द्र र ५ मतदानस्थल रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।