चार महिनामा सात हजार बढी पर्यटक निकुञ्ज प्रवेश
आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित

बर्दिया,मंसिर ९(फरकसमाचार)/ पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन र भ्रमण गर्ने पर्यटकहरुको घुँईचो लाग्ने गरेको छ । निकुञ्ज अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको बिहानै देखि घुँईचो लाग्ने गरेको हो । बर्दिया राष्ट्रिय निकुञ्ज बाघ र हात्तीको लागि प्रख्यात छ । हात्तीसार, गोही प्रजनन् केन्द्र अवलोकन तथा जंगल सफारी, जंगल वाकको लागि बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

पर्यटकहरु कोही निकुञ्ज सफारीको लागि निस्कन्छन् त कोही बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारामा रहेको गोही प्रजनन् केन्द्र, हात्ती, कछुवा, पाटे बाघ, गैँडालगायतका जनवार हेरेर फर्किन्छन् । निकुञ्ज सफारी गरेर फर्किएका अधिकांश पर्यटकहरुले जंगलको राजा पाटे बाघलगायत अन्य जनावर हेरेर खुसी भएको प्रतिक्रिया दिन्छन् ।

चालु आर्थिक वर्ष २०८१/०८२ को साउन देखि कार्तिकसम्म ७ हजार ५ सय ४९ जना पर्यटक निकुञ्ज प्रवेश गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सूर्य खड्काले बताए । ‘५ हजार १ सय ८५ आन्तरिक पर्यटक, २ सय ४८ सार्क मुलुक र २ हजार १ सय १७ जना अन्य मुलुकका प्रर्यटक निकुञ्ज प्रवेश गरेको तथ्यांक छ,’ सुचना अधिकारी खड्काले भने,‘आन्तरिक पर्यटकलाई निकुञ्ज प्रवेश गर्न रु १ सय, सार्क मुलुकका पर्यटकलाई रु ७ सय ५० र अन्य मुलुकका पर्यटकका लागि रु १ हजार ५ सय राजश्व लाग्छ ।’

आर्थिव वर्ष ०७८/०७९ मा १६ हजार २ सय ९७, आर्थिक वर्ष ०७९/०८० २४ हजार ३ सय ९८ र आर्थिक वर्ष ०८०/०८१ मा २६ हजार १ सय ३१ पर्यटक निकुञ्ज प्रवेश गरेको रेकर्ड रहेको सुचना अधिकारी खड्काले जानकारी दिए । निकुञ्जको तथ्यांक अनुसार प्रत्येक वर्ष पर्यटकको संख्या बढेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर