बर्दिया,मंसिर १०(फरकसमाचार)/ निःशुल्क रुपमा मोतिबिन्दु अप्रेशन कार्यक्रम बर्दियामा सुरु भईसकेको छ । द फ्रेड होलोज फाउन्डेशनको सहयोग तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखा शिवगंगा आँखा केन्द्रको संयुक्त साँझेदारीमा निःशुल्क मोतिबिन्दु अप्रेशन कार्यक्रम अघिल्लो साता देखि सुरु भएको हो । यो कार्यक्रम आगामी पौष ५ गतेसम्म चल्नेछ ।
सो कार्यक्रम अन्तर्गत आज सोमबार गुलरिया नगरपालिका–१ शंकरबस्ती स्थित पिपल चौतरामा निःशुल्क मोतिबिन्दु शल्यक्रियाको लागि छनौट शिविर संचालन हुँदैछ । उक्त शिविरको स्थानीय आयोजक फरक समाचार राष्ट्रिय दैनिक र नेपाल रेडक्रस सोसाइटी गुलरिया (क)उपशाखा रहेको छ ।
जिल्ला स्थित रहेका आठ वटै पालिकाका आँखाका बिरामीले शिवगंगा आँखा उपचार केन्द गुलरियाबाट निःशुल्क मोतिबिन्दु अप्रेशनको सेवा लिन सक्ने नेरेसो बर्दिया शाखा शिवगंगा आँखा उपचार केन्द्रका प्रमुख हरि केसीले बताए । शंकरबस्तीमा सोमबार मात्र शिविर संचालन भएपनि निःशुल्क मोतिबिन्दु शल्यक्रियाको लागि जाँच र अप्रेशनको कार्यक्रम शिवगंगा आँखा उपचार केन्द्र गुलरियामा पौष ५ गतेसम्म संचालन हुनेछ ।
छनौट शिविरमा निःशुल्क रुपमा आँखा जाँच गराउन सकिने प्रमुख केसीले बताए । ‘आँखा अप्रेशन गर्ने लायक छ कि छैन जाँच गराएर जानकारी प्राप्त गर्नुस्,’प्रमुख केसीले भने,‘यदि आँखा अप्रेशन गराउने लायक छ भने शिवगंगा आँखा उपचार केन्द्र गुलरियामा निःशुल्क रुपमा अप्रेशन हुन्छ ।’ जाँच पछि बोलाईएको समयमा बिरामीहरु आएर अप्रेशन गराउन सक्नेछन् । जसमा अप्रेशनको पनि रुपियाँ लाग्दैन । त्यसैगरि औषधी र चश्मासमेत निःशुल्क रुपमा पाईने प्रमुख केसीले जानकारी दिए ।