बर्दिया,पौष १६(फरकसमाचार)/ नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका नव निर्वाचित अध्यक्ष निर्मल घिमिरेसहित कार्यसमितिलाई एकैदिन दुई ठाउँमा स्वागत गरिएको छ । नव निर्वाचित कार्यसमितिलाई उद्योग वाणिज्य संग गुलरिया र मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन गुलरियाले सोमबार स्वागत गरेको हो ।
उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र (मंगल)पाण्डेलगायत पदाधिकारीले पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीलाई टिका र खादा लगाएर स्वागत तथा सफल कार्यकालको बधाई दिएका दिए ।
खुल्ला सिमानाका कारण यहाँका उद्योगी व्यवसायी पलायन हुने अवस्थामा पुगेको उद्योग वाणिज्य संघका अध्यक्ष पाण्डेले बताए । ‘खुल्ला सिमानाका कारण यहाँका व्यवसाय चौपटमा परेको छ,’अध्यक्ष पाण्डेले भने,‘पारी सिमावर्ती भारतीय बजार फस्टाएको अवस्था छ ।’ सिमामा कडाई गर्न धेरै पटक सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाएका छौं तर,सुनुवाई नभएको अवस्था छ । सम्बन्धित निकायको ध्यानाकर्षणको लागि पत्रकार महासंघको आवश्यक रहेको धारणा अध्यक्ष पाण्डेले व्यक्त गरे ।
उद्योगी व्यवसायीको हकहितको लागि संचारकर्मी सधैं तत्पर रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘तपाईहरुको साथ दिन सिङ्गो महासंघ तयार छ,’अध्यक्ष घिमिरेले भने,‘पत्रकारको जति बेला तपाईहरुलाई साथ चाहिन्छ ,त्यति बेला हामी साथ दिन तयार छौं ।’
त्यसैगरि मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन गुलरियाका अध्यक्ष राजु मनिहारले पत्रकार महासंघका नव निर्वाचित कार्यसमितिलाई स्वागत गरेका थिए । साहु महाजनहरुले हाम्रो सम्पत्ति हड्पेर पनि दुःख दिईरहेको पत्रकारहरु माँझ अध्यक्ष मनिहारले समस्या राखेका थिए । ‘मिटर व्याजीले विभिन्न ठाउँमा मुद्दा हालेका छन्,’अध्यक्ष मनिहारले भने,‘मिटर व्याजीसंग लड्न तपाई पत्रकारहरुको हामीलाई साथ सहयोगको चाहिन्छ ।’