बर्दिया,पौष १७(फरकसमाचार)/ कमैया महिला जागरण समाजद्वारा संचालित परियोजना समुदायमा सन्तोषजनक रहेको सरोकारवालाले बताएका छन् । मंगलबार कमैया महिला जागरण समाज नेपालद्वारा आयोजित वार्षिक सामाजिक परीक्षणमा सरोकारवालाले यस्तो बताएका हुन् ।
वार्षिक सामाजिक परीक्षण कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जवानसिंह केसी, गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, बढैयातालकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी र नागरिक समाज संजालकी संयोजक हिमा सुनारले कमैया महिला जागरणले समुदायमा गरेको काम सन्तोषजनक रहेको धारणा व्यक्त गरेका छन् ।
कमैया महिला जागरणले किसानलाई माछा, बाख्रा, भैंसी पालन र तरकारी खेतीको लागि सहयोग गरेर बेरोजगारबाट रोजगार बनाएको देख्दा साह्रै खुसी लागेको बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले बताईन् । कमैया महिलाले गरेको कामको स्थानीय सरकारले अपनत्व लिनु पर्ने उपाध्यक्ष अधिकारीले भनाई राखिन् ।
एक वर्षमा समुदायमा के कस्ता काम गरेको सामाजिक परीक्षणमार्फत प्रस्तुत गरेको कमैया महिला जागरण समाज नेपालका कार्यक्रम अधिकृत रामलाल चौधरीले बताए । ‘सामाजिक परीक्षणमा सुझाव संकलन गरि आगामी वर्षमा थप सुधार गर्न मद्दत पुग्छ,’कार्यक्रम अधिकृत चौधरीले भने,‘त्यसैगरि सामाजिक परीक्षणले सुशासन र पारदर्शी बनाउछ ।’
सामाजिक परीक्षणमा धेरै राम्रा सल्लाह सुझाव आएको कमैया महिला जागरण नेपालकी अध्यक्ष कृष्णी थारुले बताईन् । ‘सल्लाह सुझावले आगामी वर्षको नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्नेछ,’अध्यक्ष थारुले भनिन्,‘गेरुवा र बढैयाताल गाउँपालिकाले मुक्त कमैयाको समस्या समाधानको लागि कार्यविधि बनाएर अघि बढेको कार्य सुखद रहेको छ ।’
गत वर्ष कमैया महिला जागरण नेपालद्वारा पाँच वटा परियोजना संचालित भएको जनाईएको छ । एक्शनएड नेपालको साँझेदारीमा र पालिकाहरुको समन्वयमा कमैया महिला जागरण समाजद्वारा स्थानीय अधिकार कार्यक्रम, नेपालमा कृषिमा आधारित बंधुवा श्रम अन्त्य परियोजना, जलवायु परिवर्तनसंगै सामुदायिक लचिलोपनको लागि स्थानीय खाद्य प्रणालीको पुनस्र्थापना परियोजना, सुधार परियोजना र युवा नेतृत्व विकासका लागि सहकार्य परियोजना संचालित रहेको थियो । राजापुर, बाँसगढी नगरपालिका, गेरुवा र बढैयाताल गाउँपालिकामा परियोजना संचालित थिए ।
कमैया महिलाले खुलेर बोल्न सक्ने भएको गुलरिया नगरपालिका–९ की रिना चौधरीले बताईन् । कमैया महिला जागरण संघको सहकार्यमा रोगजार भएको बढैयाताल गाउँपालिका–७ की उज्याली चौधरीले बताईन् । ‘कृषितर्फ तरकारी खेती र भैंसी पालनको लागि कमैया महिलाले सघाँएको थियो,’उनले भनिन्,‘अहिले उत्पादन गरेको तरकारी बेच्न नेपालगंजसम्म पुगेको छु ।’
कृषि गरेर राम्रो आम्दानी गरिरहेको उनले सुनाईन् । यस कार्यमा सहयोग पु¥याउने कमैया महिलालाई चौधरीले धन्यवाद व्यक्त गरिन् । पाँच वटा परियोजना अध्ययन गरि वार्षिक सामाजिक परीक्षणको सहजीकरण शेखर चौधरीले गरेका थिए ।