बर्दिया,पौष १९(फरकसमाचार)/ गुलरिया नगरपालिकाले अनलाईन मार्फत नेपाली नागरिकताको अनुसूची सिफारिस शुरु गरेको छ । गुलरिया नगरपालिकाले बुधबार देखि चार वटा वडाबाट अनलाईन मार्फत नागरिकताको अनुसूची सिफारिस शुरु गरेको हो । नेपाली नागरिकता वितरण सम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्यले अनलाईन मार्फत अनुसूची सिफारिस शुरु गरिएको जनाईएको छ ।
गुलरिया नगरपालिका वडा नं. १,५,७ र ८ बाट बुधबार अनलाईनमार्फत अनुसूची सिफारिस शुरु भएको गुलरिया नगरपालिकाका सुचना अधिकारी मुकुन्द अर्यालले बताए । ‘त्यसैगरि बिहीबार देखि सबै वडाबाट शुरु भईसकेको छ,’सुचना अधिकारी अर्यालले भने,‘यसले अभिलेखलाई व्यवस्थित बनाउने विश्वास छ ।’
स्थानीय तहबाट नागरिकता सूचना व्यवस्थापन प्रणालीको प्रयोग गरी जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाण पत्र जारी गर्न सिफारिस गर्ने व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा आठ वटै पालिकाका सूचना प्रविधि अधिकृत र वडा सचिवहरुलाई प्रशिक्षण दिईएको सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले बताए ।
बुधबार देखि गुलरियाले केही वडाबाट सुरु गरेको छ । अन्य पालिकामा सुरु भएको छैन । पौष २१ गतेसम्म अन्य पालिकाको सबै वडाले अनलाईन मार्फत नागरिकताको अनुसूची सिफारिस गर्ने तयारीमा रहेको सहायक प्रजिअ कठायतले जानकारी दिए ।