जीर्ण बाटो निर्माण नहुँदा स्थानीय आक्रोषित
सोमबार, पुष २२, २०८१ मा प्रकाशित

मुरली गोडिया

बर्दिया,पौष २२/ लामो समय देखि जीर्ण अवस्थाको बाटो पुनःनिर्माण नहुँदा स्थानीय आक्रोषित भएका छन् । गुलरिया नगरपालिका–७ हाट बजारको दक्षिण तर्फ बाईपास वडा नं. ८ पशु मेला सम्मको जीर्ण बाटो लामो समय देखि पुनःनिर्माण नहुँदा स्थानीय आक्रोषित भएका हुन् । गुलरिया नगरपालिका–६ र ८ का टोलबासीले बैठक बसी बाटो निर्माण तथा धुलो नियन्त्रणको लागि स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने शनिबार निर्णय गरेका छन् ।

बाइपास बाटोको दुवै तर्फ घर भएका बासिन्दाहरु धुलोले प्रभावित भई सास फेर्न गाह्रो भईरहेको बैठकमा जनाएका थिए ।
ग्राभेलहरु बाटोमा ओछ्याएका कारण गाडीहरु गुड्दा ठुला ढुंगाहरु उछिट्टिन गई टोलबासीहरु तथा साना बालबालिका घाइते भएको स्थानियको गुनसो छ ।

बाटो जिर्णहुँदै जाँदा स्थानिय टोलबासीहरु आफु नगरपालिकाको बासिन्दा भएको अनुभुति समेत हुन नसकेको भन्दै ४ सुत्रिय माग अघि सार्दै स्थानिय सरकारलाई पहल गरिदिन अनुरोध गर्ने निर्णय गरिएको बैठककी सहभागी स्थानीय इन्दिरा सुवेदीले जानकारी दिईन् ।

बैठकले बाटोलाई तत्काल पिच गर्नु पर्ने, धुलो नियन्त्रणका लागी दिनमा कम्तिमा ३ पटक पानी छर्किने व्यवस्था गर्नुपर्ने, वडा नम्बर ६ र ८ का वडा अध्यक्षहरुले उल्लेखित विषयमा विशेष पहल गर्नु पर्ने निर्णय भएको छ । यस्तै बाइपास बाटोको शमिको बोट (मन्दिर) देखी दक्षिणको बाटोमा पानी हाल्ने र पिच गर्न पहल गर्नुपर्ने निर्णय गरिएको सुवेदीले जानकारी दिईन् । साथै गुलरिया नगरपालिका संगै वडा नम्बर ६ र ८ का वडा अध्यक्षलाई ध्यानकर्षण गराउने समेत निर्णय गरिएको छ ।

गुलरिया नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष धर्मेन्द्र बानियाले वडाबाट हुन सक्ने सम्पुर्ण कार्यका लागी स्थानिय सरकार सहकार्य गर्न तयार रहेको बताए । त्यस्तै बैठकमा सहभागी गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा सदस्य दिपक अधिकारीले वडाको बजेटले बाइपास बाटो पिच गर्न गाह्रो हुने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर