जाडोमा न्यानो कपडा उपहार
मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित

बर्दिया,पौष २३ (फरकसमाचार)/ गत साता देखि ठन्डी ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सु लाग्नुका साथै कठ्याग्रिने ठन्डीले जनजीवन कष्टकर बन्दै गएको छ । हुनेले त बाक्लो न्यानो कपडा लगाएर जाडोको सामना गरिरहेका छन् तर,बाक्लो कपडा लगाउने कुनै जुगाड नहुने अतिविपन्न परिवारका सर्वसाधारण थुरथुर कामेर जाडोसंग लड्न बाध्य छन् ।

न्यानो कपडा नहुने अतिविपन्न परिवारका सर्वसाधारणलाई चिसो लागेर बिरामी हुने उच्च जोखिम पनि बढेको छ ।
चिसोबाट अतिविपन्नलाई बचाउन गुलरियामा अभियान सुरु गरिएको छ ।

‘सेवा नै धर्म हो’ मुल नारासहित उद्योग वाणिज्य संघ गुलरिया र नेपाल पत्रकार महासंघको सहकार्यमा अभियान संचालन भएको छ । गुलरिया नगरपालिका–६ राधाकृष्ण चोक स्थित उद्योग वाणिज्य संघ गुलरियाको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको सहकार्यमा सोमबार देखि निःशुल्क कपडा बैक संचालन गरिएको छ । उद्योग वाणिज्य संघ र पत्रकार महासंघले चलाएको अभियान सह्रानिय रहेको भन्दै जताततै प्रशंसासमेत भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले आफुसंग भएका एक झोला राम्रो न्यानो कपडा उपलब्ध गराएर अभियानमा सरिक भए । त्यसैगरि उक्त अभियानमा धेरै सहयोगी मनहरु जोडिएका छन् । कपडा बैक आज मंगलबारसम्म चल्ने छ । निःशुल्क कपडा बैंकबाट सोमबार मात्र तीन सय थान बढी कपडा वितरण भएको जनाईएको छ ।

सोमबार राधाकृष्ण चोक स्थित कपडा लिनेको भिडभाड देखिन्थ्यो । कपडा बैंकबाट न्यानो कपडा पाएका व्यक्तिहरु निकै खुसी देखिएका थिए । जाडो छल्न निःशुल्क न्यानो कपडा पाउँदा खुसी लागेको गुलरिया नगरपालिका–८ का प्रकाश रैदासले बताए । ‘प्रयाप्त न्यानो कपडा नहुँदा अटो चलाउँदा जाडो हुन्थ्यो,’रैदासले भने,‘कपडा बैंकबाट लिएको न्यानो कपडाले जाडो छल्न मद्दत मिल्छ ।’ जाडोको सिजनमा हामी जस्ता गरिब दुखीको लागि बाक्लो कपडा उपलब्ध गराउने कार्य धेरै राम्रो रहेको गुलरियाकी लक्ष्मी बन्जाराले बताईन् ।

अत्यधिक चिसो बढेकोले हुनेले दिने र नहुनेले लिएर जाने उदेश्यले निःशुल्क कपडा बैंक संचालन गरिएको उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र (मंगल)पाण्डेले बताए । आफुसंग भएका राम्रा कपडा दिने इच्छुक सहयोगी मनहरुले कपडा बैंकलाई उपलब्ध गराउन अध्यक्ष पाण्डेले आग्रहसमेत गरेका छन् ।

‘सेवा नै धर्म हो’भन्ने मुल नारासहित उद्योग वाणिज्य संगको सहकार्यमा निःशुल्क कपडा बैंक संचालन गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले जनाए ।‘ हामी पत्रकार जहिले पनि आम नागरिकको पक्षमा कलम चलाई आवाज बिहिनहरुको आवाज बुलन्द गर्दै आएका छौं,’अध्यक्ष घिमिरेले भने,‘अहिले चिसोको मौसम छ, शितलहर बढिरहेको छ ।’ चिसोमा आम सर्वसाधारणले कपडा लगाउन नपाएर बिरामी नहोन् भन्ने मुल मर्मसहित निःशुल्क कपडा बैंकमार्फत कपडा उपलब्ध गराईरहेको अध्यक्ष घिमिरेले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर