दलबहादुर सुुनार
बर्दिया,पौष २९/ थारु समुदायको गाउँ बस्तिमा माघी पर्वको रौनक छाएको छ । माघि पर्व माघ १ गते मान्ने गरेता पनि थारु समुदायको बाहुल्यता भएका गाउँ वस्तिमा भने पौष महिनाको अन्तिम साता देखिनै माघि पर्वको चहल पहल शुरु भएको देखिन्छ ।
थारु समुदायले आफ्नो कला संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि भन्दै कतै महोत्सबको तयारी, कतै उत्सव त कतै माघि मिलन कार्यक्रमको आयोजना गरेका छन् । माघि पर्वको सन्दर्भ पारेर बस्ती स्तरीय मूल समिति बढैयाताल गाउँपालिका– ९ शक्तिनगरले शनिबार माघी उत्सव २०८१ लाई भब्य रुपमा मनाएको छ ।
‘थारु सांस्कृति हमार पहिचान : आदिबासी जनजातिको शान’ भन्ने मुल नाराका साथ बिभिन्न थारु संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम गर्दै शक्तिनगर टोलले भब्य रुपमा माघी उत्सब मनाएको जनाईएको छ ।
थारु समुदायको कला संस्कृति प्रवद्र्धन र भेष भुषाको संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभा सदस्य भुवनेश्वर चौधरीले माघी उत्सब कार्यक्रमको उद्घाटन गर्दै माघी पर्व थारु समुदायको बिशेष पर्व भएको बताए । थारु जातिले आफ्नो भेष भुषा, खानाका परिकार र संस्कृति पनि बिशेष भएको हुँदा यसको संरक्षण गर्नु पर्नेमा प्रदेश सभा सदस्य थारुले जोड दिए ।
शक्तिनगरका १४ वटा टोल मध्ये ७ वटा टोलबाट थारु समुदायको लोक प्रिय मघौटा नाच र २ वटा टोलबाट पुरानो संस्कृति डफाको प्रस्तुति गरिएको थियो । शक्तिनगर बस्तीका बड्घर हर थारुको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय १४ वटा टोलका बढ्घर, स्थानिय जनप्रतिनिधि, सुरक्षाकर्मी सञ्चारकर्मी र समाजसेवी लगाएतको उपस्थिति रहको थियो ।
माघ उत्सब मुल समिति शक्तिनगरकी कोषाध्यक्ष मन कुमारी थारुले स्वागत र प्रेम थारुले कार्यक्रम सञ्चालन गरेको थिए । कार्यक्रममा करिब सात सय बढिको उपस्थिति रहेकोे वडा सदस्य बिष्णु प्रसाद थारुले जानकारी दिए ।