बर्दिया,माघ ६(फरकसमाचार)/ गुलरिया नगरपालिका–७ बगलामुखी भगवती मन्दिर प्राङ्गणमा भक्तियोग समागम ज्ञान महायज्ञ २०८१ शुरु भएको छ । बगलामुखी मन्दिर व्यवस्थापन समितिको आयोजनामा भक्तियोग समागम ज्ञान महायज्ञ शनिबार देखि शुरु भएको हो । भक्तियोग समागम ज्ञान महायज्ञ माघ १२ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
महायज्ञमा उपस्थित भई अमृतमय कथा श्रवण गरि पुण्यको लाभ लिन बगलामुखी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिपक ढुङगानाले भक्तालुहरुलाई अनुरोध गरेका छन् । प्रमुख अतिथि गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले भक्तियोग समागम ज्ञान महायज्ञको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सनातनीहरु धर्मप्रति जाग्नुपर्ने नगर प्रमुख यादवले बताए । ‘हामीहरु सुतेको अवस्था छ, धर्मकर्म बिर्सिदै गएका छौं,’ नगर प्रमुख यादवले भने,‘धर्म जोगाउन उठ्नुपर्छ ।’ यस प्रकारका यज्ञलाई सचेतनामुलक कार्यक्रमको रुपमा लिन आग्रह गरे । कथा भागवतले श्रवण गर्दा धेरै ज्ञान मिल्छ । जसकारण बच्चाहरुलाई यस्ता कार्यक्रममा सरिक गराउन नगर प्रमुख यादवले भनाई राखे ।
महायज्ञले समाजमा नयाँपन, सामाजिक एकता कायम गर्दै र सत्यमार्ग तर्फ लैजान विशेष योगदान पु¥याउने नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले भनाई राखे ।
भक्तियोग फाउण्डेशन नेपालका संस्थापक अन्तर्राष्ट्रिय भागवत भूषण पुज्य सञ्जेल जी महाराजको मुखारविन्दुबाट भागवत वाचन हुनेछ । त्यसैगरि योग गुरु गुरुदेव विश्वराज गौतम र वरिष्ठ संगीतकार शिशिर साधकको उपस्थितीमा विभिन्न धार्मिक कार्यक्रम हुने जनाईएको छ । नेपाली, हिन्दी, थारु र भोजपुरी भाषामा भजन क्रितनसमेत हुने जनाईएको छ ।
भागवत दर्शन, गीता ज्ञान, आत्म चिन्तन, भक्ति संगीत, मन्त्र साधना, ग्रह विज्ञान विचार, धर्म विज्ञान विश्लेषण, योग शिविर, बाल विकास, मातृपितृ भक्ति, राष्ट्रचिन्तनलगायतको कार्यक्रम हुने भक्तियोग समागम २०८१ भागवत ज्ञान यज्ञ व्यवस्थापन समितिका संयोजक विष्णु अधिकारीले जनाए ।
उनका अनुसार बिहान ६ बजेदेखि ७ बजेसम्म योग विज्ञान, ७ बजेदेखि देवी देवता आरधना, दिउँसो १२ बजेदेखि ३ बजेसम्म श्रीमद्भागवत र गीताको दर्शनिक प्रवचन, साँझ साढे ४ बजेदेखि साढे ५ बजेसम्म जीवन रुपान्तरण शिविर बालबालिका लागि हुनेछ ।
त्यसैगरि रात्री साढे ८ बजेदेखि १० बजेसम्म बृहत भजन सन्ध्या भागवत चर्चा, राष्ट्रिय गीत र दिव्य झाँकी प्रदर्शनको कार्यक्रम हुनेछ । उद्घाटन समारोहको औपचारिक कार्यक्रम बगलामुखी मन्दिर व्यवस्थापन समितिका सचिव दुर्गा आचार्यले संचालन गरेका थिए ।