पूर्वीय दर्शन: आजको युगको शाश्वत समाधान
सोमबार, चैत २४, २०८१ मा प्रकाशित

दर्शन मानव सभ्यताको प्रारम्भदेखि नै जीवनको उद्देश्य, अस्तित्वको रहस्य, र नैतिकता तथा व्यवहारका मार्गनिर्देशक विचारहरूको मूल आधार रहँदै आएको छ। विश्वका प्रमुख दर्शनहरू मूलतः दुई धारामा विभाजित छन्—पूर्वीय दर्शन र पश्चिमी दर्शन। पूर्वीय दर्शन भारत, नेपाल, चीन, जापान, र मध्यपूर्वका देशहरूमा विकसित भएको हो, जसको मूल केन्द्र आध्यात्मिक चेतना, जीवनचक्र, कर्म-सिद्धान्त, योग, ध्यान, मोक्ष, करुणा र समरसताको विचारमा आधारित हुन्छ। यसले मानव जीवनलाई ब्रह्म, आत्मा र प्रकृतिसँगको सम्बन्धबाट बुझ्न प्रेरित गर्छ।

यसको उद्देश्य आत्मसाक्षात्कार र सार्वभौमिक मेलमिलाप हो। पश्चिमी दर्शन भने प्राचीन युनान, रोम हुँदै युरोप र अमेरिकामा विकसित भएको हो, जसले तर्क, वैज्ञानिक विश्लेषण, स्वतन्त्रता, मानव अधिकार र भौतिक समृद्धिमा केन्द्रित दृष्टिकोण दिन्छ। यहाँ व्यक्ति स्वतन्त्र र तटस्थ इकाईका रूपमा हेरिन्छ, र विश्वलाई वस्तुगत तरिकाले विश्लेषण गरिन्छ।

हालको सन्दर्भमा, विशेष गरी पूर्वीय देशहरूमा पश्चिमी दर्शनप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ। नेपाल पनि यस प्रवृत्तिबाट अछुतो छैन। आधुनिक शिक्षा प्रणाली, प्रविधिको विकास, स्वास्थ्य सेवा, मानव अधिकार र व्यक्तिगत स्वतन्त्रता जस्ता विषयहरूमा पश्चिमी दर्शनको प्रभाव देखिन्छ।

औद्योगिकीकरण, बजार अर्थतन्त्र र भौतिक जीवनशैलीको आकर्षणले गर्दा हामी पश्चिमी सोचलाई प्राथमिकतामा राख्न थालेका छौँ। आजका युवाहरू करियर, प्रतिस्पर्धा, व्यक्तिगत सफलता र उपभोगपरक जीवनशैलीप्रति आकर्षित छन्। परिणाम, तथ्य र यथार्थमा आधारित सोचले गर्दा पश्चिमी दर्शनलाई व्यवहारिक ठानिएको हो। तर यसको साथसाथै आत्मकेन्द्रितता, पारिवारिक विखण्डन, मानसिक तनाव, एक्लोपन, र आध्यात्मिक शून्यता पनि बढ्दै गएको छ।

यस्तो समयमा पूर्वीय दर्शन अझ बढी सान्दर्भिक र आवश्यक बनिरहेको छ। पूर्वीय दर्शन केवल धार्मिक अभ्यासमा सीमित छैन; यो जीवनशैली, चिन्तन र व्यवहारको आधारभूत संरचना हो। यसले भन्छ—जीवन केवल भोगका लागि होइन, बोधका लागि हो। पुनर्जन्म, कर्मफल, सत्य, अहिंसा, संयम, ध्यान, योग र मोक्ष जस्ता मूल्यहरूलाई आत्मसात गर्न पूर्वीय दर्शनले जोड दिन्छ।

यसले मानव जीवनलाई प्रकृति र ब्रह्मसँगको सम्बन्धमा जोडेर व्याख्या गर्छ, जसले पर्यावरण संरक्षण, सामाजिक समरसता, मानसिक शान्ति र आध्यात्मिक उन्नतिमा योगदान पुर्‍याउँछ। यिनै विचारधाराबाट प्रेरित भएर गौतम बुद्ध, महावीर, पतञ्जलि, चाणक्य, लाओ त्से र कन्फ्युसियसजस्ता महान् चिन्तकहरूले मानव सभ्यतालाई नैतिक मार्गदर्शन प्रदान गरेका थिए।

पूर्वीय दर्शनका केही विशेषता र सिद्धान्तहरू विश्लेषण गर्दा, यसले सामूहिक हित, सहिष्णुता, आत्मनियन्त्रण र समभावलाई प्राथमिकता दिएको पाइन्छ। यो व्यक्तिको मात्र होइन, परिवार, समाज र प्रकृतिको समन्वयमा आधारित हुन्छ। पूर्वीय सोच अनुसार साँचो सफलता बाहिरी उपलब्धिमा होइन, आन्तरिक शान्तिमा हुन्छ। ध्यान, योग र आत्म-अनुशासनद्वारा उत्पन्न हुने सन्तुलन, दया र करुणा जीवनलाई सुन्दर बनाउँछन्। “सर्वे भवन्तु सुखिनः” भन्ने भावना पूर्वीय दर्शनको केन्द्रीय सिद्धान्त हो। पछिल्लो समयमा मानसिक स्वास्थ्यका लागि ध्यान, योग, आयुर्वेदजस्ता पूर्वीय विधिहरूको प्रयोग बढ्दै गएको छ, जुन यस दर्शनको विश्वव्यापी स्वीकार्यता दर्शाउँछ।

नेपालजस्तो देश, जहाँ हिन्दू–बौद्ध परम्परा, योग, साधना, गुरुकुल संस्कृति र पारिवारिक सहअस्तित्वको अभ्यास गहिरो रूपमा रोपिएको छ, त्यहाँ पूर्वीय दर्शन केवल सांस्कृतिक सम्पत्ति होइन, वर्तमान समयको आवश्यकता पनि हो। आजको सन्दर्भमा बढ्दो भौतिकता, नैतिक संकट, बेरोजगारी, नशा, आत्महत्या, सामाजिक विकृति र पारिवारिक विघटनजस्ता समस्याबाट जोगिन पूर्वीय दर्शन मार्गदर्शक बन्न सक्छ। बालबालिकादेखि युवापुस्तासम्मलाई अध्यात्म, नैतिक शिक्षा, योग र ध्यानमा सक्रिय सहभागिता गराउने खाँचो छ। पश्चिमी वैज्ञानिक ज्ञान र प्राविधिक सीपसँगै पूर्वीय मूल्य, अनुशासन र जीवनदृष्टिकोणको शिक्षाको समन्वयले मात्र समग्र मानव विकास सम्भव छ।

त्यसैले, प्रत्येक नेपालीले आजको समयमा पूर्वीय दर्शनलाई आत्मसात गर्नु अत्यन्तै महत्वपूर्ण छ। हामीले आधुनिकता अपनाउँदा पनि हाम्रो मौलिकता, संस्कार र परम्परागत चिन्तनलाई संरक्षण गर्नु पर्छ। पूर्वीय दर्शनले हामीलाई हाम्रो जरा सम्झाउँछ, आत्मबोध गराउँछ, र जीवनको साँचो लक्ष्यतर्फ डोर्याउँछ। आजको विश्व मानसिक अशान्ति, पारिवारिक विघटन, पर्यावरणीय संकट र मूल्यहीनताको समस्यामा अल्झिएको छ, जसको समाधान पूर्वीय चिन्तनमा निहित छ। विश्वले आज जसको खोजी गर्दैछ, त्यो तत्व हाम्रो संस्कृति र परम्परामा पहिले नै विद्यमान थियो। त्यसैले, हामीले पूर्वीय दर्शनलाई गर्वपूर्वक अंगिकार गर्नुपर्छ, अभ्यास गर्नुपर्छ, र नयाँ पुस्तामा स्थानान्तरण गर्नुपर्छ।

निष्कर्षमा, पूर्वीय दर्शन आजको संसारका लागि केवल पुरातन ज्ञान होइन, एक समयसापेक्ष, गहिरो र शाश्वत समाधान हो। नेपालले यदि आफ्नो मौलिक दर्शन, जीवनशैली र आध्यात्मिक चेतनालाई पुनः उजागर गर्न सक्यो भने, हामी केवल भौतिक होइन, मानसिक, सामाजिक र आत्मिक रूपमा पनि विश्वको उदाहरण बन्न सक्छौँ। प्रत्येक नेपाली नागरिकले पूर्वीय दर्शनको अभ्यासलाई आफ्नो जीवनको अभिन्न अङ्ग बनाउनुपर्छ, र यही बाटोले समृद्ध, सन्तुलित र सुसंस्कृत समाज निर्माणको दिशातर्फ हामीलाई अघि बढाउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर