‘सहकारीबाट लिएको २२ लाख ऋणको किस्ता तिर्दै परेसान छु’
आइतबार, भदौ २२, २०८२ मा प्रकाशित

बर्दिया,भदौ २१
जगतबहादुर सार्की
अचेल व्यापार नचल्दा वाक्कदिक्क भएको छु । चाडपर्व बिस्तारै नजिकिए पनि व्यापारको हालत त्यस्तै छ । व्यापार किन भइरहेको छैन कुन्नि ! बजारमा ग्राहकको चहलपहल नभएकाले व्यापार नभएको होला । अहिले त दिनभरि पसलमा ग्राहक कुरेर साँझ कोठा फर्किने काम मात्र भइरहेको छ । व्यवसाय चल्छ भनेर त्यत्रो ऋण लिएर लगानी गरेँ तर व्यवसायमा सन्नाटा छाएको छ । अहिले ४८ वर्षको भएँ । सुर्खेत वीरेन्द्रनगर–१० खजुरामा घर छ । हाल गुलरिया नगरपालिका–६ मा डेरा लिएर बसेको छु । व्यापारको सिलसिलामा गुलरिया आएको पनि पाँच वर्ष भइसक्यो ।

म ६/७ वर्षको हुँदा बुवा बित्नुभयो । आमाले दुःख गरी हुर्काउनु भयो । परिवारको नाजुक आर्थिक स्थितिले पढ्ने लेख्ने रहर हुँदा हुँदै सम्भव भएन । अलि जान्ने बुझ्ने भएपछि कमाउन भारततिर जाने आउने गरियो । त्यसपछि सुर्खेतमा जुत्ता बनाउने गुरुबा पाएँ । जुत्ता बनाउने काम सिकेँ तर आफूसँग लगानी गर्ने पैसा नहुँदा पसल खोल्न सकिनँ ।

पसल खोल्न कुनै उपाय नलागेपछि पाँच वर्ष सुर्खेत बजारको फुटपाथमा बसेर जुत्ता मर्मतको काम गरेँ । त्यसले दैनिक गुजारा नचलेपछि साहुको लगानीमा सात वर्ष माछा मासु बेच्ने काम गरेँ । त्यो व्यवसायबाट पनि गुजारा चल्न धौ धौ भएपछि २०७३/०७४ तिर साउदी अरब गएँ । त्यहाँको अत्यधिक गर्मीमा २७ महिना दुःख गरेर आफ्नै ठाउँ फर्किएँ । आफ्नै ठाउँमा दुःख सुख गर्ने सोच बनाएर स्वदेश फर्किएको हुँ । त्यसपछि आफ्नै व्यवसाय गर्छु भनेर गुलरिया आएँ ।

बर्दिया जिल्ला अदालतअगाडि सुर्खेती छाला जुत्ता पसल थापेको पनि पाँच वर्ष भइसक्यो । हाम्रो यहाँ विभिन्न किसिमका छालाका जुत्ता, पार्टी सुज, अफिस सुज र स्कुल तथा कलेज सुज बनाइनुका साथै पुराना जुत्ता–चप्पल मर्मतका गरिन्छ । लेदरका ज्याकेट पनि पालिस गरिन्छ । भनेजस्तै चित्त बुझ्दो बलियो जुत्ता बनाएर ग्राहकहरूको हातमा थमाउँदा उहाँहरू पसलबाट खुसी भएर फर्किंदा आत्मसन्तुष्टि मिल्ने गरेको छ ।
श्रीमती पुष्पाले दिनभरि पसलमा सघाउँछिन् । जुत्ता–चप्पल सिलाउने र नयाँ बनाउने काममा पनि उनी सघाउँछिन् । तीन वर्षदेखि श्रीमतीले निरन्तर औषधी सेवन गरिरहेकी छन् । तीन वर्षअघि थाइराइड बिग्रिएर उनको घाँटीको शल्यक्रिया गर्नुपरेको थियो । उनको घाँटीको शल्यक्रिया गराउँदा करिब ७ लाख ऋण लागेको छ ।

आफूले पढ्न नपाए पनि दुःख गरी जसोतसो तीन बच्चालाई पढाएँ । ठूलो छोरीको विवाह भइसक्यो । कान्छी छोरी भर्खरै कक्षा १२ पास गरिन् । अब क्याम्पस पढ्ने सोचमा छिन् । छोराले नेपाल आर्मीमा जागिर खाएको डेढ वर्ष पुग्यो । दिनभरि पसलमा खटिँदा मुस्किलले ७÷८ सय कमाइ गर्छु । कुनै दिन पसलमा दिनभरि बस्दासमेत बोहनी नगरी फर्किनु पर्छ ।

व्यवसायका लागि एउटा सहकारीबाट लिएको २२ लाख ऋणको किस्ता तिर्दा तिर्दै परेसान छु । कारोबार नभए पनि मासिक किस्ता तिर्नै प¥यो । खाइ नखाइ किस्ता जुटाउनु पर्छ । पसलको भाडा मासिक १३ हजार ५ सय पर्छ । भाडामा छोरी र हामी बुढाबुढी बस्छौं । यस्तै कोठा भाडा, विद्युत् र पानीको गरी मासिक ५ हजार खर्च हुन्छ । चामल, दाल, नुन, तेल, तरकारी, साबुन, सर्फ, लत्ताकपडामा मासिक १० हजार खर्च भइहाल्छ । बुढीको औषधीमा मासिक १ हजार ५ सय खर्च छ । मेरो कमाइले खर्च धान्न मुस्किल हुन्छ । तर, छोराले मासिक १८ हजार सहयोग गर्दा मलाई सहज भइरहेको छ । प्रस्तुति : रामप्रसाद चौहान,ईकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर